ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले लिए पद तथा गोपनीयताको शपथ


काठमाडाैं-ग्लोबल आईएमई बैंक लिमिटेडको अध्यक्ष अध्यक्ष चन्द्रप्रसाद ढकालले शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आइतबार ढकाललाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

बिहीबार सम्पन्न बैंकको १७औं वार्षिक साधारणसभाबाट निर्वाचित ६ सदस्यीय सञ्चालक समितिको पहिलो बैठकले ढकाललाई पुनः अध्यक्षमा निर्वाचित गरेको थियाे। उनी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत हुन् ।

शपथ ग्रहण समारोहमा अध्यक्ष ढकालले रेमिट्यान्स सेवा प्रदान गर्ने सानो कम्पनीको रुपमा स्थापना गरेको आइएमई नै नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीति/निर्देशन अनुसार काम गर्दै जाँदा आजको ग्लोबल आइएमई बैंकको अवस्थासम्म आइपुगेको बताए ।

ढकालले नेपाली बैंकहरुले बदलिँदो विश्व परिस्थितिअनुसार आफूलाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक हुने बताउदै आफ्नो कार्यकालमा ग्लोबल आइएमई बैंकलाई थप सबल र उत्कृष्ट बनाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गभर्नरबाट शपथ लिएपछि ढकालले नवनिर्वाचित सञ्चालकहरुलाई आजै शपथ गराएका छन् ।

वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरुमध्येबाट ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त, तथा सर्वसाधारण शेयरधनीतर्फबाट कृष्णप्रसाद शर्मा, नारायण प्रसाद पौडेल र मदनलाल जोशी सञ्चालक समितिमा सर्वसम्मत निर्वाचित भएका थिए ।