एनआईसी एसिया र एआई अन्सारी एक्सचेन्जबीच साझेदारी, यूएईबाट सजिलै नेपाल रकम पठाउन सकिने


काठमाडाैं- यूएईबाट नेपालमा सजिलै रकम पठाउन सकिनेगरी एनआईसी एसिया बैंक र एआई अन्सारी एक्सचेन्ज बीच रणनीतिक साझेदारी भएकाे छ।

रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीले नेपालमा सजिलै रकम पठाउन सक्नेगरी दुई पक्षबीच सम्झाैता भएकाे हाे। समझदारीअनुसार यूएईमा आक्रामक बजार विस्तार गरिरहेको उक्त कम्पनीका २५० भन्दा बढी शाखा कार्यालय तथा डिजिटल च्यानल (वेबसाइट तथा मोबाइल एप) बाट नेपालमा रकम पठाउन सकिने छ।

एआई अन्सारी एक्सचेन्जबाट यस बैंकका साथै नेपालका जुनसुकै बैंकका खाता तथा वालेटमा तुरुन्त रकम पठाउन सकिनेछ। एआई अन्सारीबाट पठाइएको रकम एनआईसी बैंकका ३६० शाखा कार्यालय, १११ विस्तारित काउन्टर, ५५ वटा शाखा रहित बैंकिङ्ग इकाई र १६ हजार भन्दा बढी रेमिटेन्स एजेन्टहरूमार्फत सहजै भुक्तानी लिन सकिनेछ।

साथै, यस बैंकको मोबाइल बैंकिङ्ग एपभित्र रहेको रेमिट्यान्स आइकनमा ट्याप गरेर रिसिभ रिमिटभित्र आफूलाई प्राप्त रकम र युनिक पिन विवरण राखेपश्चात् रकम खातामा स्थानान्तरण गरी रेमिटेन्स रकम सहजै बुझ्न सकिने व्यवस्था समेत रहेको छ ।