नेप्सेले एनसीसी बैंकसँग माग्यो स्पष्टिकरण

नेप्सेले एनसीसी बैंकसँग माग्यो स्पष्टिकरण


बैकिङ्ग समाचार ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एनसीसी बैंकलाई स्पष्टिकरण सोधेको छ । बैंकले शेयर मूल्यमा प्रभाव पार्ने खालको निर्णय गरेको भए तीन दिन भित्र जानकारी दिन भन्दै नेप्सेले स्पष्टिकरण सोधेको हो ।

बैंकको माघ ९ गते सम्पन्न साधारणसभाले आफु भन्दा बलियो संस्थासँग मर्जरमा जाने निर्णय गरेपछि शेयर बजारमा एनसीसी बैंकको शेयरको माग चुलीएको छ ।

आफुभन्दा बलियो संस्था भनेसँग नबिल बैंक र प्रभू बैंकसंगको अनौपचारीक छलफलको कुरा बाहिर आएपछि त्यस बारेमा जानकारी माग्दै नेप्सेले बैंकलाई पत्र काटेको हो ।

बैंकको मर्जरको कुरा बाहिर आएपछि आइतबार मात्र १० प्रतिशत अर्थात ३३ रुपौयँले शेयर मूल्य बढेको छ ।

बैंकको शेयर मूल्यमा आएको आइतबारको उच्च सुधारलाई लिएर बैंक संग स्पष्टिकरण माग गरेको हो । बैंकले शेयर मूल्यमा प्रभाव पार्ने निर्णय गरेर सार्वजानिक नगरेको हुन सक्ने अनुमान नेप्सेको छ ।

बैंकको तेइसौँ वार्षिक साधारण सभाले मर्जर सम्बन्धीको सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिएको छ ।

अहिले बजारमा एनसीसी बैंकसँग नबिल बैंक र प्रभु बैंकको नाम चर्चामा रहेको छ । एनसीसी बैंकले प्रभू बैंकसँग गाभिन विभिन्न चरणका छलफल समेत गरिसकेको थियो । तर, प्रभु बैंकले अन्य बैंकहरुसँग पनि समान्तर रुपमा मर्जरको कुरा चलाइरहेको हुँदा कुनै औपचारिक निर्णय हुन सकेको छैन । प्रभु बैंक र एनसीसी बैंकबीच शेयर स्वापको वार्गेनिङ लामो समय चले पनि निर्णय हुन सकेन ।

प्रभु बैंकले भने एनसीसी बैंकलाई प्रतिशेयर ९० रुपैयाँसम्म दिन तयार भएपनि एनसीसी बैंकले एक बराबर एक नभए कम्तिमा पनि ९५ रुपैयाँ पाउनुपर्ने माग गर्दे आएको थियो । अनौपचारिक छलफलका आधारमा नबिलसँग एनसीसीले ४० रुपैयाँ मागिरहेको र नबिल ३० रुपैयाँ दिन तयार रहेको जानकारी बाहिर आइसकेको अवस्था छ । दुबै बैंकका अधिकारीहरुबीच मर्जरका बिषयमा अनौपचारिक छलफलहरु भने भइरहेका छन् ।