मिर्मिरे लघुवित्तको नाफा ८८.७८ प्रतिशतले बढ्यो

मिर्मिरे लघुवित्तको नाफा ८८.७८ प्रतिशतले बढ्यो


बैकिङ्ग समाचार ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आफ्नो खुद नाफामा उच्च सुधार गरेको छ ।

आइतबार सार्वजनिक चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले पुससम्ममा ७ करोड ५१ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा ३ करोड ९८ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले ३ करोड ५३ लाख ३७ हजार रुपैयाँले बढाएको हो। जुन गत आवको यसै अवधिको तुलनामा ८८.७८ प्रतिशत बढी हो। ब्याज आम्दानीसँग आम्दानीका सबै स्रोत बढ्दा खुद नाफामा उच्च सुधार देखिएको हो ।

चुक्ता पूँजी ३९ करोड ८६ हजार २६ हजार रुपैयाँ रहेको यस लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३७.९४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५१.५५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३८.०९ गुणा छ । समीक्षा अवधिमा लघुव्त्तिको जगेडा कोषको आकार १३ करोड ३६ लाखबाट बढेर २० करोड ५४ लाख रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्ममा लघुवित्तले १ अर्ब ६७ करोड ५३ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ३५ करोड रुपैयाँ सापटीबाट कुल ५ अर्ब ४६ करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १० करोड ३५ लाखबाट बढेर १७ करोड ९२ लाख पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि ५ करोड ४० लाखबाट बढेर ११ करोड ९२ लाख पुगेको हो ।

दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको खराब कर्जा अनुपात १.४८ बाट २.८० प्रतिशतमा बढेको छ । पुस मसान्तसम्ममा लघुवित्तको कोषको लागत ६.१० प्रतिशत, स्प्रेडदर ८.९० प्रतिशत र रिर्टन अफ इक्वीटी २४.८८ रुपैयाँ रहेको छ ।