मञ्जुश्री फाइनान्सको ऋणपत्र माघ १८ देखि बिक्रीमा आउने, ९.५ प्रतिशत ब्याज

मञ्जुश्री फाइनान्सको ऋणपत्र माघ १८ देखि बिक्रीमा आउने, ९.५ प्रतिशत ब्याज


बैकिङ्ग समाचार ।

मञ्जुश्री फाइनान्सले यहि माघ १८ गतेदेखि ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । फाइनान्सले एक हजार रुपैयाँ दरका ५ लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको हो।

उक्त ऋणपत्रको अवधि ८ बर्षको रहेको छ । ९.५ प्रतिशत व्याज ६/६ महिनामा प्रदान गरिने फाइनान्सले जनाएको छ । फाइनान्सले यस अघि १०.५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको भएपनि आह्वान पत्र सार्वजनिक गर्दा भने एक प्रतिशत ब्याजदर घटाएको छ ।

५० करोड रूपैयाँको ऋणपत्रमध्ये ३ लाख कित्ता अर्थात ३० करोड बराबरको ऋणपत्र परिपत्र विधिबाट र २ लाख कित्ता अर्थात २० करोडको ऋणपत्र सार्वजनिक निष्काशन प्रकृयाबाट बिक्री गर्ने फाइनान्सले जनाएको छ ।

ऋणपत्र निष्काशनका लागि फाइनान्सले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । फाइनान्सको ऋणपत्रमा माघ १८ गतेदेखि छिटोमा माघ २१ गते तथा ढिलोमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ । जसमा न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

फाइनान्सको गत पुस २९ गते सम्पन्न साधारण सभाले १८% वोनश शेयर र कर सहित ५.५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । वोनश शेयर वाँडफाँड पश्चात संस्थाको चुक्ता पूँजी ९६ करोड ५३ लाख पुगेको छ।

संस्थाको हाल सम्म ९ अर्ब निक्षेप संकलन तथा ७ अर्ब ९६ करोड कर्जा लगानी रहेको छ । मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रिय कार्यालय, नयाँ बानेश्वर, काठमाण्डौंमा रहि न्युरोड काठमाण्डौ,नारायणगढ, बुटवल, धनगढी, इटहरी, बिराटनगर, नेपालगञ्ज, धरान, पोखरा तथा बिरगञ्ज शाखाबाट कारोबार गरिरहेको राष्ट्रिय स्तरको वित्तिय संस्था हो ।

यस फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स, मोवाइल बैंकिङ्ग,एटिम कार्ड लगायतका अन्य आधुनिक बैंकिङ्क सुविधा उपलव्ध उपलब्ध गराउदै आएको छ।