इन्भेष्टमेन्ट बैंकको ४ अर्बको ऋणपत्रको बिक्री माघ १६ गतेदेखि खुल्दै

इन्भेष्टमेन्ट बैंकको ४ अर्बको ऋणपत्रको बिक्री माघ १६ गतेदेखि खुल्दै


बैकिङ्ग समाचार ।

नेपाल इन्भेष्टमेन्ट बैंकले माघ १६ गतेदेखि प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र बिक्री खुला गर्ने भएको छ ।

बैंकले निष्काशन गर्ने ४ अर्बको ऋणपत्र मध्ये १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता (सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको ८० हजार कित्ता समेत) ऋणपत्रमा सर्वसाधारणले आवेदन गर्न पाउनेछन् ।

२ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरमा बिक्री गर्नेछ ।

‘नेपाल इन्भेष्टमेन्ट बैंक बोन्ड २०८४’ नामक सात बर्षे अवधिको ऋणपत्रमा हाल वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा प्रदान गरिरहेको ब्याज भन्दा बढी ब्याज दिनेगरी ऋणपत्रको बिक्री खुला गर्न लागेको हो । बैंकको ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाउनेछन् । वाणिज्य बैंकहरुले निक्षेपकर्तालाई १ वर्षको ६ देखि अधिकतम ८ प्रतिशत ब्याज दिँदै आएका छन् भने बचतको व्याजदर औसतमा २ प्रतिशत छ ।

बैंकको ऋणपत्रमा लगानी गर्न चाहने लगानीकर्ताले माघ १६ देखि छिटोमा माघ २० गते मंगलबारसम्म आवेदन दिन पाउनेछन् । निष्काशित सबै ऋणपत्र बिक्री नभएको खण्डमा भने ऋणपत्रको निष्काशन ढिलो मिति अर्थात माघ ३० गतेसम्म खुला रहने ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङले जनाएको छ । उक्त ऋणपत्र २०८४ सालमा परिपक्व हुनेछ ।

ऋणपत्र खरीदका लागि कम्तिमा २५ कित्ताका लागि २५ हजार रुपैयाँदेखि २ लाख ५० हजार कित्तासम्मका २५ करोड रुपैयाँसम्मको आवेदन दिन सकिनेछ ।   ऋणपत्र निष्काशनका लागि बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट मंसिर १८ गते अनुमति दिएको थियो ।

बैंकले यसअघि बिक्री गरेको ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र आगामी वर्ष र २ अर्ब रुपैयाँ बराबरको अर्कोऋणपत्र २०८२ सालमा परिपक्व हुनेछ ।