मेगा बैंक र नेपाल उद्यमशील महिला महासंघबीच सम्झौता

मेगा बैंक र नेपाल उद्यमशील महिला महासंघबीच सम्झौता


बैकिङ्ग समाचार । 

मेगा बैंकले विपन्न वर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल उद्यमशील महिला महासंघसँग सम्झौता गरेको छ ।
सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नेपाल उद्यमशील महिला महासंघकी अध्यक्ष देविका बुढाथोकीले हस्ताक्षर गरे । सम्झौतासँगै मेगा बैंकले महासंघसँग आवद्ध उद्यमी महिलाहरुलाई आफ्नो व्यवसाय विस्तार गर्नका लागि साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।
बैंककी प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले महिला उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा बैंकका सबै शाखा कार्यालयहरुमार्फत छिटो छरितो ढंगले प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
महासंघकी अध्यक्ष बुढाथोकीले मेगा बैंकले महिला उद्यमशील कर्जालाई प्राथमिकताका साथ प्रवाह गर्दै आएकाले बैंकसँग सहकार्य गरेको बताइन् । बैंकले महासंघसँग आवद्द उद्यमी महिलाहरुलाई देशभरका शाखाहरुबाट प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा सेवा उपलब्ध गराउने छ ।