कृष्णनगर नगरपालिकाका इन्जिनियर चौधरीविरुद्ध घुस लिएको आरोपमा  मुद्दा


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृष्णनगर नगरपालिका, कपिलवस्तुका इन्जिनियर प्रदीप कुमार चौधरीविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार नगरपालिकामा करार सेवामा कार्यरत प्राविधिक प्रमुख चौधरीले सडक निर्माण कार्य सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गरिदिने भन्दै निर्माण व्यवसायीसँग कमिसन मागेका हुन्।

भुक्तानी प्रक्रियामा विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख तथा हैरानी दिँदै उनले घुस रकमका लागि बार्गेनिङ गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ। अनुसन्धानका क्रममा चौधरीले निर्माण व्यवसायीबाट चेकमार्फत ५० हजार रुपैयाँ र बैंक खातामा फोनपे मार्फत १ लाख रुपैयाँ गरी कुल १ लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारको दाबी छ। निर्माण व्यवसायीसँगको ह्वाट्सएप च्याट तथा मोबाइल बैंकिङ्गमार्फत रकम पठाइएको विवरणसमेत उजुरीमा उल्लेख गरिएको थियो।

सोही विषयमा अनुसन्धान अघि बढाउँदा चौधरीले राष्ट्रसेवक पद तथा ओहदाको दुरुपयोग गरी घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ। आयोगले चौधरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा १ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेको छ। आयोगले उनलाई ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) तथा पहिलो संशोधनसहितको ऐनको सोही दफाको देहाय (ग) बमोजिम कैद सजाय र बिगोबमोजिम जरिवाना हुन मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको हो।