कृषिजन्य फोहोरबाट उद्योग चलाउँदै एनसी एग्रो, २५ करोडको आईपीओ ल्याउने तयारी


काठमाडौं – कृषि तथा प्रशोधन क्षेत्रमा कार्यरत एनसी एग्रो टेक इण्डष्ट्रिजले २५ करोड रुपैयाँभन्दा बढीको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले २५ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल २५ करोड ३१ लाख २५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न लागेको हो। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।

कस्तो छ कम्पनीको वित्तीय अवस्था ?
आईपीओ निष्कासनको तयारीमा रहेको एनसी एग्रो टेकले आर्थिक वर्ष २०८१/८२ मा दुई करोड ३६ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको खुद नाफा एक करोड ३६ लाख २८ हजार रुपैयाँ थियो। यसअनुसार एक वर्षमा कम्पनीको नाफा एक करोड रुपैयाँभन्दा बढीले बढेको छ। २०८२ असारसम्म कम्पनीको चुक्ता पुँजी ५६ करोड २५ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको बैंक ऋण तीन करोड ५६ लाख ८२ हजार ८६६ रुपैयाँ रहेको छ। त्यस्तै, सञ्चित मुनाफा एक करोड ४६ लाख २७ हजार २८१ रुपैयाँ छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ६० पैसा र प्रतिशेयर आम्दानी (ईपीएस) चार रुपैयाँ २० पैसा रहेको छ। प्रतिशेयर आम्दानीका आधारमा कम्पनीको नाफा क्षमता अझै सीमित देखिन्छ। यद्यपि, अघिल्लो वर्षको तुलनामा नाफामा भएको वृद्धिले कम्पनीको वित्तीय अवस्थामा सुधार आएको देखाउँछ।

कृषिजन्य फोहोरबाट औद्योगिक उत्पादन
एनसी एग्रो टेकले कृषि उत्पादनपछि खेर जाने वस्तुहरूको पुनःप्रयोग गरी विभिन्न प्रकारका च्याउ तथा अन्य औद्योगिक उत्पादन गर्दै आएको छ। कम्पनीले धानको भुस, गहुँको भुस, उखुको बगास, मकैको पिना, काठको धुलो, कुखुराको सुली तथा गाईभैँसीको मललाई कच्चा पदार्थका रूपमा प्रयोग गरी राजा च्याउ, डल्ले च्याउ, कन्या च्याउलगायत औषधीय गुण भएका च्याउ उत्पादन गर्दै आएको जनाएको छ। त्यस्तै, देशका विभिन्न स्थानबाट बाँस संकलन गरी टुथपिक, ससेज स्टिक, मुडाको स्टिक तथा ग्राहकको मागअनुसार विभिन्न प्रकारका बाँसका सिन्का उत्पादन गर्दै आएको छ।

उत्पादन प्रक्रियाबाट निस्कने बाँसको भुस तथा च्याउ उत्पादनपछि बाँकी रहने वस्तु पुनःप्रयोग गरी कोइला, हुक्का कोइला र प्रांगारिक मलसमेत उत्पादन गर्ने कम्पनीको भनाइ छ। उत्पादित मल किसानलाई बिक्री वितरण गर्दै आएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार उद्योगले प्रत्यक्ष रूपमा १७० जनाभन्दा बढीलाई रोजगारी दिएको छ। तीमध्ये करिब ५० प्रतिशत महिला कर्मचारी छन्।

को–को छन् सञ्चालक ?
कम्पनीको सञ्चालक समितिको अध्यक्षमा यज्ञमूर्ति न्यौपाने रहेका छन्। उनले कृषि, आयात–निर्यात तथा उत्पादनमूलक उद्योगलगायत विभिन्न व्यावसायिक क्षेत्रमा ३० वर्षभन्दा बढीको उद्यमशीलता तथा व्यवस्थापकीय अनुभव हासिल गरेका छन्।त्यस्तै, सञ्चालक कृष्ण रानाभाट चार्टर्ड एकाउन्टेन्ट हुन्। उनीसँग नेपालको प्रमुख आर्थिक क्षेत्रमा १४ वर्षभन्दा बढीको नेतृत्वदायी अनुभव रहेको छ। लेखापरीक्षण, लेखा व्यवस्थापन, कर प्रणाली तथा वित्तीय व्यवस्थापनका साथै कर्पोरेट वित्त, व्यवसाय मूल्यांकन र प्रत्यक्ष वैदेशिक लगानी रणनीतिमा समेत उनको अनुभव रहेको कम्पनीले जनाएको छ। अर्का सञ्चालक दीपकप्रसाद न्यौपानेले वित्त, कृषि, उत्पादनमूलक उद्योग तथा सहकारी क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव हासिल गरेका छन्। कम्पनीको स्वतन्त्र सञ्चालकमा रमेशकुमार कार्की छन्।