दानबहादुर कार्कीको रिटमाथिको सुनुवाइ स्थगित, अब ९ मंसिरमा हुने


काठमाडौं – दानबहादुर कार्कीको रिटमाथि सर्वोच्च अदालतमा आजको सुनुवाइ स्थगित भएको छ। नेपाल प्रहरीका वर्तमान आईजीपी डा. मनोजकुमार केसीले अदालतको म्याद नबुझेका कारण सुनुवाइ प्रभावित भएको हो। रिटमा विपक्षी बनाइएका अन्य पक्षले म्याद बुझिसके पनि आईजीपी केसीले म्याद नबुझेका हुन्।

त्यसपछि न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले महान्यायाधिवक्तालाई इजलासमै बोलाएर म्याद बुझ्ने व्यवस्था सुनिश्चित गर्न निर्देशन दिएको छ। साथै, कार्कीले आफूलाई पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्ने सरकारको निर्णयविरुद्ध दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा आगामी ९ मंसिरमा सुनुवाइ हुने भएको छ।

इजलासले सोमबार उक्त रिटको सुनुवाइका लागि ९ मंसिरको मिति तोकेको हो। यसअघि रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो। साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय लिन दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको थियो।