एनपीएलमा अनलाइन सट्टेबाजी गराउने पाँच जना पक्राउ


काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा अनलाइन सट्टेबाजी गराएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना नेपाली र चार जना भारतीय नागरिक रहेका छन्।

दाङको लमही नगरपालिका–५, रातोडाँडास्थित जस्मिन होटल एण्ड लजमा अनलाइन सट्टेबाजीको कारोबार भइरहेको सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले छापा मारेको थियो।

होटलको तेस्रो तलामा रहेका कोठा नम्बर २०३ र २०४ भाडामा लिएर सट्टेबाजीका प्लेटफर्म सञ्चालन गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका पाँचै जनाले कुश ७७७ लगायतका विभिन्न अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीसम्बन्धी कारोबार सञ्चालन गरिरहेका थिए।

खानतलासीका क्रममा प्रहरीले कारोबारमा प्रयोग गरिएका विभिन्न कम्पनीका दुई थान डेस्कटप कम्प्युटर, तीन थान ल्यापटप र १३ थान मोबाइल फोन गरी कुल १८ थान विद्युतीय उपकरण बरामद गरेको छ। उनीहरुलाई बरामद सामग्रीसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय लमही, दाङमा बुझाइएको प्रहरीले जनाएको छ।