काठमाडौं – जीवन बीमा कम्पनीहरूको व्यवसाय विस्तार भइरहे पनि नाफामा भने संकुचन देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये अधिकांशको नाफा घटेको छ। समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले कुल १ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम हो। गत वर्षको पहिलो त्रैमासमा कम्पनीहरूले १ अर्ब ९६ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएका थिए।
समीक्षा अवधिमा चारवटा कम्पनीको मात्रै नाफा बढेको छ भने बाँकी १० कम्पनीको नाफा घटेको छ। व्यवसाय विस्तार र बीमा शुल्क आम्दानीमा वृद्धि भए पनि नाफा बढ्न नसक्नुले जीवन बीमा कम्पनीहरू लगानी प्रतिफल र आम्दानी व्यवस्थापनको दबाबमा रहेको देखाउँछ। बैंकको ब्याजदर निरन्तर घट्दा मुद्दती निक्षेप तथा ब्याजमा आधारित अन्य वित्तीय उपकरणबाट प्राप्त हुने आम्दानी प्रभावित भएको हो।
राष्ट्रिय जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पन्थीका अनुसार जीवन बीमा कम्पनीहरूको नाफा घट्नुको मुख्य कारण बैंकको ब्याजदरमा आएको गिरावट हो । ब्याजदर घटेसँगै कम्पनीहरूको लगानीबाट प्राप्त हुने आम्दानी पनि खुम्चिएको उनले बताए । लगानीका अन्य उपकरण पर्याप्त रूपमा चलायमान नहुँदा पनि नाफामा दबाब परेको उनको भनाइ छ।
जीवन बीमा कम्पनीहरूले बीमितबाट संकलन गरेको रकमको ठूलो हिस्सा बैंकको मुद्दती निक्षेपलगायत ब्याजमा आधारित वित्तीय उपकरणमा लगानी गर्दै आएका छन् । बैंकको ब्याजदर घट्दा त्यस्ता लगानीबाट प्राप्त हुने प्रतिफल पनि घट्छ। पछिल्लो दुई वर्षयता बैंकको ब्याजदर निरन्तर ओरालो लागेकाले त्यसको असर बीमा कम्पनीहरूको आम्दानी र नाफामा परेको देखिन्छ। तर, नाफा घटिरहँदा बीमा कम्पनीहरूको व्यवसाय भने विस्तार भएको छ । बीमा पहुँच विस्तार तथा बीमा कारोबारमा भएको वृद्धिसँगै कम्पनीहरूको खुद बीमा शुल्क आम्दानी बढेको छ । यसले व्यवसाय विस्तार र नाफा वृद्धिबीच अपेक्षित तालमेल देखिएको छैन।
सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेल पनि बैंकको ब्याजदरमा आएको गिरावटलाई बीमा कम्पनीहरूको नाफा घट्नुको प्रमुख कारण मान्छन्। उनका अनुसार बीमा कम्पनीहरूले संकलित रकमको ठूलो हिस्सा बैंकमा लगानी गर्दै आएका छन्। पछिल्लो समय बैंकको ब्याजदर घट्दा त्यस्तो लगानीबाट प्राप्त हुने प्रतिफलमा कमी आएको र त्यसको असर समग्र बीमा क्षेत्रको नाफामा देखिएको हो ।
कुन कम्पनीको नाफा कति ?
समीक्षा अवधिमा सबैभन्दा बढी खुद नाफा कमाउने कम्पनी सन नेपाल लाइफ इन्स्योरेन्स बनेको छ। कम्पनीले २४ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। दोस्रो स्थानमा रहेको रिलायबल नेपाल लाइफले २२ करोड ९० लाख रुपैयाँ नाफा कमाएको छ। यद्यपि, रिलायबलको नाफा गत वर्षको सोही अवधिको तुलनामा घटेको हो । तेस्रो स्थानमा रहेको एशियन लाइफ इन्स्योरेन्सले १६ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको नाफा १५ करोड ३५ लाख र सानिमा रिलायन्स लाइफको १५ करोड २ लाख रुपैयाँ रहेको छ । प्रभु महालक्ष्मी लाइफले भने नाफा बढाउँदै ९ करोड ३० लाख रुपैयाँ पुर्याएको छ। नाफा घट्ने कम्पनीमा आइएमई लाइफको १४ करोड १२ लाख, नेसनल लाइफको १२ करोड ५६ लाख, सूर्यज्योति लाइफको १० करोड २९ लाख र सिटिजन लाइफको १० करोड रुपैयाँ रहेको छ। त्यस्तै, हिमालयन लाइफको नाफा घटेर ९ करोड ९० लाख र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालको ९ करोड ६९ लाख रुपैयाँमा झरेको छ।
मेट लाइफको नाफामा पनि उल्लेख्य गिरावट आएको छ। कम्पनीले समीक्षा अवधिमा ५ करोड २३ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको छ। सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी भने ६५ लाख ४५ हजार रुपैयाँ खुद नोक्सानीमा छ।
बढ्यो खुद बीमा शुल्क आम्दानी
जीवन बीमा कम्पनीहरूको खुद बीमा शुल्क आम्दानीमा वृद्धि भएको छ। असोजसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्सले संकलन गरेको छ। कम्पनीले पहिलो त्रैमासमा १४ अर्ब ७१ करोड ६४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। दोस्रो स्थानमा रहेको नेसनल लाइफले ७ अर्ब १९ करोड ५६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। त्यस्तै, एलआईसी नेपालले ५ अर्ब ४३ करोड ७३ लाख र हिमालयन लाइफले ५ अर्ब ३ करोड ६१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन्।
राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ८१ करोड ९० लाख, सूर्यज्योति लाइफले ३ अर्ब ५४ करोड ८ लाख र एशियन लाइफले २ अर्ब ७७ करोड २२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। त्यस्तै, सिटिजन लाइफले २ अर्ब ४८ करोड ४० लाख र सानिमा रिलायन्स लाइफले २ अर्ब १९ करोड ४२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन्। आइएमई लाइफले २ अर्ब १८ करोड ८५ लाख, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ८१ करोड ६ लाख, मेट लाइफले १ अर्ब ७८ करोड ९३ लाख, रिलायबल नेपाल लाइफले १ अर्ब ७७ करोड ४ लाख र सन नेपाल लाइफले १ अर्ब २४ करोड ६४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।





About Us
प्रतिक्रिया