काठमाडौं– नेपाल राष्ट्र बैंकले ५९ जना कर्मचारी भर्ना गर्ने भएको छ । बैंकले विभिन्न पदमा खुला प्रतिस्पर्धामार्फत कर्मचारी छनोट गर्न बिहीबारदेखि आवेदन माग गरेको हो ।
राष्ट्र बैंकले अधिकृत तहका ३३ र सहायक तहका २६ कर्मचारी माग गरेको छ। अधिकृत तहमा प्रशासनतर्फ २६ जना, लेखा तथा लेखा परीक्षणतर्फ तीन जना र सूचना प्रविधितर्फ चार जना सहायक निर्देशक माग गरिएको छ । त्यस्तै, सहायक द्वितीय पदमा २६ जना कर्मचारी भर्ना गरिनेछ । वाणिज्य कानुन विषय पढेका उम्मेदवारका लागि सहायक निर्देशक पदमा पनि पुनः आवेदन खुलाइएको छ ।
इच्छुकले मंसिर १७ गतेभित्र अनलाइनबाट आवेदन दिन सक्नेछन् । तोकिएको समयभित्र आवेदन दिन नसक्नेले दोब्बर दस्तुर तिरेर मंसिर २४ गतेसम्म आवेदन दिन पाउनेछन् ।
आवेदन दिँदा नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, शैक्षिक विवरण (ट्रान्सक्रिप्ट), चारित्रिक प्रमाणपत्र र हालसालै खिचेको पासपोर्ट साइजको फोटो अनलाइनबाटै पठाउनुपर्नेछ। विदेशमा पढेका उम्मेदवारले आफ्नो शैक्षिक योग्यताको नेपालमा मान्यता प्राप्त भएको प्रमाण पनि पेस गर्नुपर्नेछ ।
सहायक पदमा आवेदन दिनेले भने लोक सेवा आयोगले सञ्चालन गरेको पूर्व योग्यता परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्रसमेत बुझाउनुपर्नेछ ।
राष्ट्र बैंकले महिला, आदिवासी जनजाति, मधेशी, दलित, अपाङ्गता भएका व्यक्ति र पिछडिएको क्षेत्रका उम्मेदवारका लागि पनि पद छुट्याएको छ । तर, समावेशी समूहका पदमा नियुक्ति भने सर्वोच्च अदालतको आदेशअनुसार आवश्यक कानुनी व्यवस्था भएपछि मात्रै गरिने बैंकले जनाएको छ ।
आवेदनमा गलत विवरण पेस गरेमा उम्मेदवार स्वयं जिम्मेवार हुनेछन् । त्यस्तै, लोक सेवा आयोगको कारबाहीका कारण निश्चित अवधिसम्म परीक्षामा सहभागी हुन नपाउने व्यक्ति उक्त अवधिमा प्रकाशित विज्ञापनमा आवेदन दिन योग्य हुने छैनन् ।






About Us
प्रतिक्रिया