प्रतिबन्धका बाबजुद रोकिएन पटकाको कारोबार


काठमाडौं – नेपालमा पटका आयात, बिक्रीवितरण तथा प्रयोग प्रतिबन्धित भए पनि तिहार र छठलाई लक्षित गरी भारतबाट लुकिछिपी भित्रिने क्रम रोकिएको छैन। विशेषगरी तिहारका समयमा सीमावर्ती नाका हुँदै विभिन्न किसिमका पटका अवैध रूपमा भित्रिने गरेका छन्।

यस वर्ष पनि तिहार नजिकिएसँगै प्रहरीले ठूलो परिमाणमा पटका बरामद गरिरहेको छ। कात्तिक १७ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई हजार २५० किलोग्रामभन्दा बढी पटका बरामद गरी नष्ट गरेको थियो। त्यसै दिन सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेक्वा रानी, मोरङबाट खटिएको टोलीले करिब दुई लाख ५० हजार रुपैयाँ बराबरका पटका बरामद गरेको थियो।

साथै, कात्तिक १६ गते काठमाडौंको तीनचुली चोकमा डेरा गरी बस्ने भारतको मोतिहारी घर भएका रमन कुमार मेहतालाई प्रहरीले करिब चार लाख रुपैयाँ बराबरका पटाकासहित पक्राउ गरेको थियो। सोही दिन चितवनको भरतपुर महानगरपालिका–३, बाह्रघरेमा डेरा गरी बस्ने भारतको मतियारी, पटझिलवा–८ घर भएका राज जयसवाल पनि करिब ८६ हजार रुपैयाँ बराबरका पटाकासहित पक्राउ परेका थिए।

प्रहरीका प्रवक्ता अविनारायण काफ्ले पटका तथा विस्फोटक पदार्थको आवाजबाट ध्वनि प्रदूषण हुने भएकाले सार्वजनिक स्थान तथा सडकमा पटका नपड्काउन र त्यस्ता पदार्थको अवैध कारोबार गर्न नहुने बताउँछन्। त्यस्तै, तिहारका बेला आगलागी हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै आवश्यक सावधानी अपनाउन, घर तथा पसलमा विद्युत् सर्ट हुन सक्ने भएकाले रहन आग्रह गरेका छन्।

साथै, प्रहरीले पटकाका कारण हुनसक्ने आगलागीको जोखिमलाई ध्यानमा राखी दमकल एवम् विपद् व्यवस्थापन टोलीलाई २४ सै घण्टा तयारी अवस्थामा राखेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता गोविन्द थपलियाका अनुसार तिहारका समयमा पटका, जुवातास तथा प्रतिबन्धित विस्फोटक पदार्थको प्रयोग र कारोबार नियन्त्रण गर्न प्रहरीले विशेष निगरानी बढाएको छ। यस्ता गतिविधि हुन सक्ने सम्भावित स्थानमा सादा पोशाकका प्रहरी परिचालन गरी सूचना संकलन, खोजतलास तथा चेकजाँचलाई तीव्रता दिइएको उनले बताए।

पटका तथा आतसबाजीका लागि प्रयोग हुने विस्फोटक पदार्थ भेटिएमा कडाइका साथ कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ। नेपालमा पटका तथा विस्फोटक पदार्थको आयात र प्रयोग प्रतिबन्धित रहेकाले सर्वसाधारणलाई यस्ता गतिविधिमा संलग्न नहुन प्रहरीले आग्रह गरेको छ। प्रहरीले सुरक्षाका लागि सादा पोशाकका प्रहरी परिचालन, नियमित गस्ती, सीसीटीभीमार्फत निगरानी तथा ड्रोनबाट समेत सर्भिलेन्स गर्ने व्यवस्था मिलाइएको थपलियाले बताए।

प्रहरीले आपराधिक पृष्ठभूमि भएका तथा शंकास्पद व्यक्तिहरूमाथि पनि निगरानी बढाएको छ। आपराधिक अभिलेखको जाँच तथा सम्भावित जोखिमका आधारमा शंकास्पद व्यक्तिको स्क्रिनिङ गरी आवश्यकताअनुसार नियन्त्रणमा लिएर कानुनी कारबाही गर्ने योजना रहेको उनले जानकारी दिए।

त्यस्तै, प्रहरीका तथ्यांक अनुसार २०७९ को तिहार अवधिमा मात्र देशभरबाट ३१ लाख ६८ हजार बराबरको पटका प्रहरी बरामद गरेको थियो। सो वर्षको तिहार अवधिमा प्रहरीले कर्णाली प्रदेशमा ९ लाख, लुम्बिनी प्रदेशमा ८६ हजार, मधेश प्रदेशमा १४ लाख र कोशी प्रदेशमा ७ लाख ७४ हजार रुपैयाँ बराबरको पटका बरामद गरेको थियो। ०८० को तिहार अवधिमा देशभरबाट ३ लाख ४८ हजार बराबरको पटका प्रहरी बरामद गरेको थियो। सो वर्षको तिहार अवधिमा प्रहरीले उपत्यकाबाट १ लाख ७४ हजार, लुम्बिनी प्रदेशबाट २० हजार, गण्डकी प्रदेशबाट ४९ हजार, मदेश प्रदेशबाट ८० हजार र कोशी प्रदेशबाट २४ हजार बराबरको पटका बरामद गरेको थियो।

साथै, २०८१ को तिहार अवधिमा देशभरबाट १२ लाख ४१ हजार बराबरको पटका प्रहरी बरामद गरेको थियो। गत वर्षको तिहार अवधिमा प्रहरीले उपत्यकाबाट ३ लाख २७ हजार, सुदूरपश्चिम प्रदेशबाट २ लाख ८७ हजार, लुम्बिनी प्रदेशबाट ४ लाख ७५ हजार, मधेश प्रदेशबाट १ लाख ३१ हजार र कोशी प्रदेशबाट २० हजार बराबरको पटका बरामद गरेको थियो। गत वर्षको तिहारमा प्रहरीले ७९ लाख २२ हजार बराबरको पटका बरामद गरेको थियो । त्यस वर्षमा १४ जना पक्राउ परेका थिए।

पटका पड्काउनेलाई के हुन्छ कारबाही ?

मुलुकी अपराध संहिता, २०७४ ले पटका पड्काउने तथा यसको अवैध कारोबार गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ। संहिताअनुसार पटका पड्काउने, बिक्री वितरण गर्ने तथा कारोबारमा संलग्न हुने व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्न सकिने व्यवस्था छ।

त्यसैगरी, विष्फोटक पदार्थ उत्पादन वा निर्माण गर्ने संयन्त्र, मेसिन तथा ज्यावल उत्पादन गर्ने, प्रयोग गर्ने, आफूसँग राख्ने वा अन्य कुनै किसिमको कारोबार गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद र २० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान रहेको छ।

Skip This