कुकुर तिहार विशेषः

चार कुकुरबाट सुरु भएको प्रहरीको केनाईन सेवा, अहिले देशभर १०७ कुकुर परिचालन

'भोटेकोशीमा उत्कृष्ट काम गर्ने ‘लियो’ सम्मानित हुँदै, अपराधी पहिचानदेखि लागु औषध र विस्फोटक पदार्थ खोजीसम्म जिम्मेवारी'


काठमाडौं – अपराध अनुसन्धान, सुरक्षा व्यवस्था र विपद्मा उद्धारका लागि नेपाल प्रहरीले परिचालन गर्ने तालिमप्राप्त कुकुरको संख्या देशभर १०७ पुगेको छ। २०२६ सालमा मलेसियाबाट ल्याइएका दुई र नेपालमै खरिद गरिएका दुई गरी चार वटा कुकुरबाट सुरु भएको प्रहरीको केनाईन सेवा अहिले देशका विभिन्न १३ स्थानमा विस्तार भएको छ। अपराधीको पहिचानदेखि लागु औषध, विस्फोटक पदार्थ र विपद्मा हराएका व्यक्तिको खोजी तथा उद्धारसम्म प्रहरीका कुकुरले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

प्रहरी संगठनका लागि यी कुकुर सुरक्षा परिचालनका साधन मात्र होइनन्, अनुसन्धानका विश्वासिला सहयात्रीसमेत हुन्। विशेष तालिम र असाधारण घ्राण शक्तिका कारण मानिसले सहजै पत्ता लगाउन नसक्ने अपराधका प्रमाण, लागुऔषध तथा विस्फोटक पदार्थ पहिचान गर्न प्रहरी कुकुर प्रयोग हुँदै आएका छन्। यस वर्षको कुकुर तिहारमा नेपाल प्रहरीले आफ्नो केनाईन सेवामा उत्कृष्ट योगदान पुर्‍याउने कुकुरलाई विशेष सम्मान गर्दै छ। गत भदौमा आएको भोटेकोशी बाढीपछि बेपत्ता व्यक्तिको खोजी तथा उद्धारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको ल्याब्राडोर रिट्रिभर प्रजातिको ‘लियो’ यस वर्ष सर्वोत्कृष्ट प्रहरी कुकुरका रूपमा सम्मानित हुँदैछ।

केन्द्रीय कुकुर विद्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) चेतनारायण ज्ञवालीका अनुसार लियोले विगत चार वर्षदेखि मानव खोजी तथा उद्धारको जिम्मेवारी सम्हाल्दै आएको छ। २०७८ असार ९ गते जन्मिएको लियोले भोटेकोशी बाढीपछिको खोजी तथा उद्धारका क्रममा नुवाकोटका विभिन्न स्थानबाट दुईवटा शव, एउटा कंकाल र मानव शरीरका ससाना अंगसमेत फेला पार्न सहयोग गरेको थियो। यही योगदानका आधारमा लियोलाई सम्मानका लागि छनोट गरिएको ज्ञवालीले बताए।

एक वर्षमा ९ हजार ७८३ पटक अनुसन्धानमा परिचालन
नेपाल प्रहरीको केनाईन सेवाको कार्यक्षमता पछिल्लो तथ्यांकले पनि देखाउँछ। प्रहरीका अनुसार २०८२ सालको तिहारदेखि हालसम्म तालिमप्राप्त कुकुरलाई विभिन्न अनुसन्धान तथा खोजी कार्यमा ९ हजार ७८३ पटक परिचालन गरिएको छ। यस अवधिमा प्रहरी कुकुरले पाँच हजार ११० पटक विस्फोटक पदार्थको खोजी तथा पहिचान, ४९९ पटक लागु औषधको खोजी तथा पहिचान, ७४ पटक अपराधीको खोजी तथा पहिचान र एक सय पटक मानव खोजी तथा उद्धारको काम गरेका छन्। प्रहरी कुकुरलाई मुख्यतः चार वटा विधामा परिचालन गरिन्छ। अपराधीको खोजी, लागु औषध पहिचान, विस्फोटक पदार्थको खोजी तथा विपद्मा हराएका व्यक्तिको खोजी र उद्धार यसका प्रमुख जिम्मेवारी हुन्। विमानस्थल, सीमा नाका, सार्वजनिक स्थल तथा संवेदनशील क्षेत्रमा पनि प्रहरी कुकुर परिचालन हुँदै आएका छन्।

छ प्रजातिका कुकुर, क्षमताअनुसार फरक जिम्मेवारी
नेपाल प्रहरीले अहिले छ वटा प्रजातिका कुकुरलाई विभिन्न काममा प्रयोग गर्दै आएको छ। जर्मन सेफर्ड, बेल्जियन मालिनोइस, ल्याब्राडोर रिट्रिभर, गोल्डेन रिट्रिभर, बिगल र ककर स्प्यानियल प्रहरीको केनाईन सेवामा छन्। यी कुकुरलाई एउटै काममा परिचालन गरिँदैन। उनीहरूको प्रजाति, शारीरिक क्षमता, स्वभाव र सुँघ्ने शक्तिका आधारमा फरक–फरक जिम्मेवारी दिइन्छ। उदाहरणका लागि बिगललाई लागुऔषध खोजीमा र ककर स्प्यानियललाई विस्फोटक पदार्थ पहिचानमा प्रयोग गरिँदै आएको छ। ल्याब्राडोर र गोल्डेन रिट्रिभरलाई पनि विभिन्न विषयगत काममा परिचालन गरिन्छ।

त्यस्तै, बेल्जियन मालिनोइस छिटो सिक्ने र प्रभावकारी नतिजा दिने भएकाले प्रहरीमा यसको प्रयोग बढ्दै गएको डीएसपी ज्ञवालीले बताए । यसअघि जर्मन सेफर्डलाई बहुउद्देश्यीय कुकुरका रूपमा बढी प्रयोग गरिए पनि अहिले अन्तर्राष्ट्रिय अभ्यास र अध्ययनका आधारमा विशेष क्षमताअनुसार प्रजाति छनोट गर्न थालिएको छ। घरमा पालिने कुकुर र प्रहरीको विशेष काममा प्रयोग हुने कुकुरबीच छनोटकै आधारमा भिन्नता हुन्छ। घरपालुवा कुकुर व्यक्तिगत रुचि, साथ र सुरक्षाका लागि पालिन्छन्। तर प्रहरी कुकुरलाई मुख्यतः घ्राणशक्ति, कार्यक्षमता र विशेष जिम्मेवारी निर्वाह गर्न सक्ने क्षमताका आधारमा छनोट गरिन्छ।

देशभर १०७ कुकुर, १५० प्रहरी कर्मचारी
प्रहरीको तथ्यांकअनुसार देशभर १०७ वटा तालिमप्राप्त कुकुर परिचालित छन्। तीमध्ये काठमाडौंस्थित केन्द्रीय कुकुर विद्यालयमा मात्रै ४५ वटा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोमा पाँच–पाँच वटा कुकुर परिचालित छन्। त्यस्तै, कोशी प्रदेशको धरानमा आठ र विराटनगर विमानस्थलमा तीन, मधेश प्रदेशको लालगढ, जनकपुर विमानस्थल र वीरगन्जमा तीन–तीनवटा कुकुर छन्। बागमती प्रदेशको हेटौँडामा आठ, गण्डकी प्रदेशको पोखरामा सात र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच वटा कुकुर परिचालित छन्। त्यसैगरी, कोहलपुर र धनगढीमा छ–छ वटा कुकुर रहेका छन्।

कर्णाली प्रदेशको शाखा सुर्खेतमा हुनुपर्ने भए पनि पुरानो क्षेत्रीय संरचनाअनुसार स्थापना भएको कोहलपुर शाखा अझै स्थानान्तरण हुन सकेको छैन। केनाईन सेवाका लागि कुल १६४ जनाको दरबन्दी रहेकोमा अहिले १५० जना प्रहरी कर्मचारी कार्यरत छन्। प्रहरीको केनाईन सेवामा प्रहरी उपरीक्षकदेखि प्रहरी जवान र कार्यालय सहयोगीसम्मका जनशक्ति परिचालित छन्। केन्द्रसहित विभिन्न स्थानमा सेवा सञ्चालन भइरहेको छ।

कुकुरको खानपान र उपचारमा छुट्टै व्यवस्था
प्रहरी कुकुरलाई नियमित ड्युटीमा खटाउनुअघि उनीहरूको स्वास्थ्य, खानपान, शारीरिक अभ्यास र तालिममा विशेष ध्यान दिइन्छ। कुकुरको उमेर, तौल, स्वास्थ्य अवस्था र पोषण आवश्यकताअनुसार खानपान तथा हेरचाहको व्यवस्था मिलाइएको हुन्छ। कुकुरको आहार, औषधि र स्वास्थ्य उपचारका लागि वार्षिक रूपमा बजेट छुट्याइन्छ। यद्यपि, प्रत्येक कुकुरका लागि छुट्टाछुट्टै बजेट निर्धारण गर्ने व्यवस्था छैन। रासन, औषधि तथा आवश्यक उपकरण खरिदका लागि छुट्टाछुट्टै शीर्षकमा खर्च व्यवस्थापन गरिन्छ। रासन तथा औषधि खरिद ठेक्का प्रक्रियाबाट र अन्य आवश्यक सामग्री वार्षिक खरिद प्रक्रियाबाट व्यवस्था गरिँदै आएको ज्ञवालीले बताए।

कुकुरलाई बिहान सरसफाइ, शारीरिक अभ्यास, परेड तथा नियमित प्रशिक्षण गराइन्छ। त्यसपछि आवश्यकताअनुसार आराम र ड्युटीमा परिचालन गरिन्छ। लगातार ड्युटीमा खटाउनुपर्ने अवस्थामा उनीहरूलाई पालैपालो परिचालन गर्ने व्यवस्था छ। यसले कुकुरको स्वास्थ्य र कार्यक्षमता कायम राख्न सहयोग पुर्‍याउँछ। प्रहरी कुकुरको कुनै पद वा दर्जा हुँदैन। सबैलाई समान व्यवहार गरिन्छ। तर उमेर, तौल, स्वास्थ्य र आवश्यकताअनुसार खानपान, प्रशिक्षण तथा हेरचाह फरक हुन सक्छ।

चारबाट सुरु भएको सेवा कसरी बन्यो संस्थागत ?
नेपाल प्रहरीको केनाईन सेवाको इतिहास २०२६ सालदेखि सुरु हुन्छ। त्यस वर्ष मलेसियामा तालिमका लागि गएका पाँच जना प्रहरी कर्मचारीले मलेसियन सरकारको सहयोगमा दुई वटा तालिमप्राप्त कुकुर नेपाल ल्याएका थिए। त्यसैगरी, नेपालमै थप दुई वटा कुकुर खरिद गरिएपछि चार वटा कुकुरबाट केनाईन सेवा सुरु भएको थियो। २०३२ सालमा १० जनाको दरबन्दीसहित कुकुर शाखा स्थापना गरियो। त्यसपछि २०४७ सालमा तत्कालीन कुकुर शाखाको नाम परिवर्तन गरी ‘केन्द्रीय प्रहरी कुकुर तालिम स्कुल’ कायम गरियो। सोही समयमा पाँचवटा विकास क्षेत्रमा केनाईन सेवाका लागि दरबन्दीसमेत निकासा गरिएको थियो ।

२०७५ सालमा केनाईन सेवालाई स्तरोन्नति गरी ‘केनाईन महाशाखा’ बनाइयो। २०७८ सालमा यसको नाम परिवर्तन गरी ‘नेपाल प्रहरी केनाईन कार्यालय’ कायम गरिएको हो। चार वटा कुकुरबाट सुरु भएको सेवा अहिले १०७ तालिमप्राप्त कुकुर र १५० प्रहरी कर्मचारीमार्फत सञ्चालन भइरहेको छ। प्रहरीका अनुसार हाल रहेका कुकुरमध्ये ३३ वटा लागु औषध अनुसन्धान, ११ वटा खोजी तथा उद्धार, १७ वटा ट्रयाकिङ, ४० वटा विस्फोटक पदार्थ अनुसन्धान र ६ वटा प्रजननका लागि प्रयोग गरिन्छन्।

यसरी अपराध अनुसन्धान र सुरक्षा व्यवस्थापनमा आधुनिक तथा वैज्ञानिक विधिको प्रयोग बढ्दै जाँदा प्रहरीको केनाईन सेवा पनि विस्तार हुँदै गएको छ। विशेष तालिम, नियमित हेरचाह र दक्ष जनशक्तिको संयोजनमा परिचालित प्रहरी कुकुरले अपराध अनुसन्धानदेखि विपद् उद्धारसम्म आफ्नो उपयोगिता प्रमाणित गरिरहेका छन्। भोटेकोशी बाढीपछि खोजी तथा उद्धारमा उत्कृष्ट काम गरेको लियो त्यसको पछिल्लो उदाहरण बनेको छ।

Skip This