पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरणः

ज्ञानेन्द्र बहादुर कार्कीविरुद्धको भ्रष्टाचार मुद्दामा प्रमाण बुझ्ने विशेष अदालतको आदेश


काठमाडौं – पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले थप प्रमाण बुझ्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले यसअघि दिएको पूर्वआदेशअनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित राजस्व तथा आर्थिक कारोबारका विषयमा प्रमाण संकलन गरी पेस गर्न आदेश दिएको हो।

अदालतले पोखरा विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले भुक्तानीका लागि दाबी गरेका बिल–भरपाईको विवरण माग गरेको छ। साथै, उक्त कम्पनीलाई हालसम्म भएको भुक्तानी र भुक्तानी हुन बाँकी रकमको विवरण नेपाल नागरिक उड्डयन प्राधिकरणबाट झिकाउन आदेश दिएको छ।

त्यसैगरी, नेपाल सरकारले चीनको एक्जिम बैंकसँग लिएको ऋण रकम भुक्तानी गर्ने प्रक्रिया तथा ऋण भुक्तानीका किस्तागत विवरण सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट झिकाउन पनि अदालतले आदेश दिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित आर्थिक कारोबार, भुक्तानी प्रक्रिया र ऋण व्यवस्थापनका विषयमा थप तथ्य तथा प्रमाण संकलन गर्न अदालतले यस्तो आदेश दिएको हो।

Skip This