आईजीपी कार्की हटाउने निर्णयमा रास्वपाले भन्यो- पार्टीको निर्देशन होइन


काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गर्ने निर्णयलाई लिएर सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ताको भनाइ बाझिएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले पार्टीको निर्देशनपछि कार्कीको जिम्मेवारी हेरफेर गरिएको बताए पनि रास्वपा प्रवक्ता जगदीश खरेलले भने पार्टीले कुनै व्यक्तिलाई हटाउन वा नियुक्त गर्न निर्देशन नदिएको स्पष्ट पारेका छन्।

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री बालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको थियो। उनको स्थानमा अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरिएको छ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बदलिँदो परिस्थितिमा संवेदनशील विषयमा सरकारले आवश्यक कदम चाल्नुपर्ने भन्दै पार्टीबाट पनि निर्देशन आएको बताएका थिए। सोही निर्देशनपछि कार्कीको जिम्मेवारी फेरबदल गरिएको उनको भनाइ थियो। तर, रास्वपा प्रवक्ता खरेलले पार्टीले सरकारको प्रशासनिक तथा सुरक्षा निकायसम्बन्धी निर्णयमा हस्तक्षेप नगर्ने दाबी गरेका छन्। नेपालखबरसँगको संक्षिप्त प्रतिक्रियामा उनले कसलाई पदमा राख्ने वा हटाउने भन्ने विषयमा पार्टीले सरकारलाई निर्देशन नदिएको बताए।

‘कसलाई हटाउने, कसलाई राख्ने, के गर्ने, कसो गर्ने भन्ने सन्दर्भमा पार्टीले भित्र गएर हस्तक्षेप गर्ने कुरा पनि हुँदैन र पार्टीले भनेको अवस्था पनि होइन,’ खरेलले भने।

उनका अनुसार पार्टीको सचिवालय बैठकले केही दिनअघि सञ्चारमाध्यमका कार्यालयमा पुगेर पत्रकार पक्राउ गरिएको घटनाबारे अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न सरकारलाई भनेको थियो। तर, त्यसलाई आईजीपी कार्कीलाई पदबाट हटाउने निर्देशनका रूपमा बुझ्न नहुने उनको भनाइ छ। ‘पत्रकार पक्राउ गर्ने कुरा गलत भयो। कसले पक्राउ गर्‍यो र कसले पक्राउ गर्न आदेश दियो, उनीहरूमाथि कारबाही हुनुपर्छ भनेर हामीले भनेका हौँ,’ खरेलले स्पष्ट पारे।

पत्रकार पक्राउ प्रकरणमा पार्टीले सरकारसँग जवाफदेहिता मागेको भए पनि कार्कीको जिम्मेवारी हेरफेरबारे पार्टीलाई जानकारी नगराइएको उनले दाबी गरे। सरकारले कार्कीमाथि कारबाही नभई जिम्मेवारी मात्र परिवर्तन गरिएको बताइरहेको अवस्थामा यसलाई पार्टीको निर्देशनमा भएको कारबाही भन्न नमिल्ने उनको तर्क छ। ‘उहाँलाई कारबाही गरिएको होइन, जिम्मेवारी मात्र हेरफेर गरिएको हो भनेर सरकारले नै भनिरहेको छ। त्यसो हो भने किन यस्तो निर्णय गरियो भन्ने कुरा सरकारले स्पष्ट पार्नुपर्छ,’ खरेलले भने।

उनले सरकारले पत्रकार पक्राउ प्रकरणकै कारण कार्कीको जिम्मेवारी परिवर्तन गरेको हो भने त्यसको आधार र निर्णयको औचित्य खुलाउनुपर्ने बताए। अन्यथा, कुनै व्यक्तिलाई पदबाट हटाउने वा नियुक्त गर्ने विषयमा पार्टीको संलग्नता नरहेको उनको भनाइ छ।

‘पार्टीले कुनै पनि व्यक्तिलाई हटाऊ वा नियुक्त गर भनेर निर्देशन दिएको छैन। किन यस्तो निर्णय गरियो भन्ने कुरा सरकारले नै पुष्टि गर्ला,’ उनले भने। सरकारका प्रवक्ता पोखरेल र रास्वपा प्रवक्ता खरेलको फरक–फरक अभिव्यक्तिले आईजीपीको जिम्मेवारी फेरबदलमा सत्तारुढ दलको भूमिका र सरकारको निर्णय प्रक्रियाबारे प्रश्न उठाएको छ। अब सरकारले निर्णयको आधार र पार्टीको निर्देशन भनिएको विषयमा थप स्पष्ट पार्नुपर्ने देखिएको छ।