दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चमा पहिलो नम्बरमा पेसी


काठमाडौं – सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट निवेदन सर्वोच्च अदालतमा शुक्रबार पहिलो नम्बरमा पेसी चढेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासको ‘क’ मा उक्त रिटको सुनुवाइका लागि पेसी तोकिएको हो। भट्टलाई रिहा गर्न माग गर्दै उनका बुवा चतुर्भुज भट्टले गत असोज ७ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

रिट दर्ता भएको भोलिपल्ट असोज ८ गते न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो। आदेशमा बन्दीप्रत्यक्षीकरणको रिट जारी हुनुपर्ने वा नपर्ने आधार र कारण स्पष्ट गरी बाटाका म्यादबाहेक तीन दिनभित्र लिखित जवाफ पेस गर्न भनिएको थियो। सर्वोच्चले विशेष अदालत, प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरोलगायत विपक्षीका नाममा लिखित जवाफ माग गर्नुका साथै दीपक भट्टविरुद्ध नेपाल सरकारका तर्फबाट दायर भई सर्वोच्च अदालतमा विचाराधीन रहेका मुद्दासमेत अवलोकनार्थ पेस गर्न आदेश दिएको थियो।

धितोपत्र कारोबारसम्बन्धी प्रकरणमा भट्ट गत चैत १९ गते पक्राउ परेका थिए। उनी प्रहरी हिरासतमा रहेकै अवस्थामा उनकी श्रीमती आयुष्मा नेपालले वैशाख १८ गते पहिलोपटक बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उक्त रिट सोही दिन तत्कालीन कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको इजलासमा पेसी चढे पनि ‘हेर्न नमिल्ने’ भएपछि कुनै आदेश भएन। त्यसपछि वैशाख २१ गते पुनः पेसी तोकिए पनि सोही कारण सुनुवाइ हुन सकेन। यसैबीच, सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा रहेका भट्टलाई रिहा गर्न माग गर्दै उनका बुवाले पुनः बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन्। उक्त रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुन लागेको हो।