दसैं अवधिमा १ हजार ४ सय २२ वटा मुद्दा दर्ता, चेक अनादरसम्बन्धी मात्रै १०८ 


काठमाडौं – नेपाल प्रहरीले यस वर्षको दसैं (असोज २५ देखि कात्तिक ८ गते) को अवधिमा देशभरबाट १ हजार ३ सय २७ जना विभिन्न अपराधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। जसमध्ये ब्युरोहरूबाट ४ जना, उपत्यकाबाट २ सय ३० जना, कोशी प्रदेशबाट २ सय ४ जना, मधेश प्रदेशबाट २ सय ८९ जना, बागमती प्रदेशबाट १ सय जना, गण्डकी प्रदेशबाट ९१ जना, लुम्बिनी प्रदेशबाट २ सय ३ जना, कर्णाली प्रदेशबाट ६० जना र सुदूरपश्चिम प्रदेशबाट १ सय ४६ जना पक्राउ परेका हुन्।

सो अवधिमा १ हजार ४ सय २२ वटा मुद्दा दर्ता भएका छन्। जसमध्ये ज्यान सम्बन्धी कसुर अन्तर्गत २ सय ६४, आत्महत्या सम्बन्धी १ सय २६, चोरी सम्बन्धी १ सय ५८, लागू औषध सम्बन्धी २ सय ७, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी ८, अपहरण तथा शरीर बन्धक सम्बन्धी ३, आर्थिक अपराध सम्बन्धी ३९, चेक अनादर सम्बन्धी १ सय ८, सामाजिक अपराध सम्बन्धी २ सय ६१, महिला तथा बालबालिका सम्बन्धी १ सय २, सवारी सम्बन्धी १ सय २९, विद्युतीय कारोबार सम्बन्धी ७, लिखित सम्बन्धी ५ र नागरिकता सम्बन्धी कसुर अन्तर्गत ५ वटा मुद्दाहरू दर्ता भएका हुन्। गत वर्षको दसैंको अवधिमा ८ सय १ जना पक्राउ परेका थिए भने ९ सय ६० वटा मुद्दा दर्ता भएको थियो।  

आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी खरो रूपमा प्रस्तुत भइरहेको सन्दर्भमा सबै प्रहरी कार्यालयहरूले त्यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिने कार्यलाई प्राथमिकतामा राखी कार्य गरिरहेको छ। साथै प्रहरीले समुदाय– प्रहरी साझेदारी अन्तर्गत लागू औषध उत्पादन, ओसारपसार र प्रयोगबाट सामाजिक तथा व्यक्तिगत जीवनमा पर्न जाने नकारात्मक असरहरूको बारेमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको छ।