महोत्तरीबाट ७ लाख रुपैयाँभन्दा बढीका अवैध सामान बरामद


काठमाडौं – महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित भुट्टा गल्लीबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइँदै गरेका विभिन्न सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ९ गण हेडक्वार्टर महोत्तरीबाट खटिएको गाडी मोबाइल टोलीले खजुर, सुर्ती, तुलसी पत्ता तथा सामान ढुवानीमा प्रयोग गरिएको अटोसहित कुल ७ लाख २ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको हो।

भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएका सामान तथा ढुवानीमा प्रयोग गरिएको अटो आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको जनाइएको छ।