काठमाडौं – दसैं भन्नासाथ धेरैको मनमा घरपरिवारसँगको भेटघाट, रातो टीका, जमरा, मीठा परिकार, पिङ र बाल्यकालका रमाइला सम्झनाहरू आउँछन्। वर्षभरि कामको व्यस्ततामा रहेका मानिसका लागि दसैं परिवारसँग समय बिताउने र आफन्तसँग खुसी साटासाट गर्ने अवसर पनि हो। तर, सबैका लागि दसैंको अर्थ उस्तै हुँदैन। प्रहरीका लागि दसैं नागरिकको सुरक्षामा खटिने समय हो। नेपाल प्रहरीका कर्मचारीका लागि दसैं जिम्मेवारीसँग जोडिएको हुन्छ।
बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) दीपक रेग्मीको पनि यसपालिको दसैं नागरिकको सुरक्षामा नै बित्ने भएको छ। प्रहरीका लागि दसैं केवल पारिवारिक उत्सव होइन, नागरिकलाई सुरक्षित राख्ने जिम्मेवारी निर्वाह गर्ने समय हो। नागरिकले निर्धक्कसँग चाडपर्व मनाउन पाउनु नै प्रहरीको दसैं सार भएको उनी बताउँछन्।
प्रहरीको दसैं
उनका अनुसार प्रहरी कर्मचारीका लागि चाडपर्वमा व्यक्तिगत रमाइलोभन्दा पनि नागरिकको सुरक्षा र सेवाको दायित्व महत्त्वपूर्ण हुन्छ। यसपालिको दसैंमा बागमती प्रदेशका विभिन्न जिल्लामा ४ हजार ९ सय जना प्रहरी परिचालन गरिएको छ। विशेष सुरक्षा योजनाअन्तर्गत चोकचोकमा पिकेटिङ, नियमित गस्ती, मोबाइल गस्ती, आकस्मिक चेकजाँच, लामो दूरीका क्षेत्रमा निगरानी तथा ट्राफिक प्रहरीसँगको संयुक्त चेकजाँचलाई प्रभावकारी बनाइएको छ।
लागुऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि तालिमप्राप्त कुकुरसहितको चेकजाँचको व्यवस्थासमेत गरिएको छ। चाडपर्वका बेला यात्रुको आवागमन बढ्ने, बजारमा भीडभाड हुने, चोरी तथा लुटपाटका घटना हुन सक्ने र मादक पदार्थ सेवनका कारण दुर्घटना तथा अवाञ्छित गतिविधि बढ्न सक्ने भएकाले प्रहरीले सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राखेको छ। यात्रुलाई आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउन प्रदेशभर करिब ६० वटा हेलल्पडेस्क सञ्चालनमा ल्याइएको रेग्मीले बताए।
विशेषगरी बसपार्क, सवारीसाधन छुट्ने स्थान र ग्रामीण क्षेत्रबाट आएका यात्रुले सवारीसाधन चढ्ने ठाउँमा सहायता कक्ष राखिएको छ। त्यसैगरी, लामो दूरीका सवारीसाधनमा दुई जना चालक राख्ने व्यवस्था कार्यान्वयन गराउने, बढी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने सवारीसाधनमाथि कारबाही गर्ने र रातको समयमा समेत ट्राफिक चेकजाँच गर्ने व्यवस्था मिलाइएको छ। प्रहरीले क्विक रेस्पोन्स टिम तयारी अवस्थामा राखेको छ।
मोटरसाइकल तथा मोबाइल गाडीमार्फत तत्काल परिचालन हुन सक्ने टोलीलाई इलाका प्रहरी कार्यालयसम्म तयारी अवस्थामा राखिएको छ। उनका अनुसार प्रहरीको सक्रियता र कार्य सम्पादनले नागरिकको सुरक्षाको अनुभूतिमा प्रत्यक्ष प्रभाव पार्छ। प्रहरी जति सक्रिय भयो, प्रहरीले जति राम्रो ड्युटी गर्याे, सामान्य नागरिकले त्यति नै सुरक्षित महसुस गरेर दसैं मनाउन पाउँछन्।
सुरक्षा केवल प्रहरीको उपस्थितिसँग सम्बन्धित विषय नभई व्यक्तिले महसुस गर्ने अवस्था हो। नागरिकले सुरक्षित महसुस गर्न नसके चाडपर्वको वास्तविक खुसी प्राप्त गर्न कठिन हुने उनी बताउँछन्।
बाल्यकालको दसैं
स्याङ्जाको एक गाउँमा जन्मिएका रेग्मी २०५४ सालको अन्त्यतिर नेपाल प्रहरी सेवामा प्रवेश गरेका हुन्। २८ वर्षको प्रहरी सेवाका क्रममा उनले दसैंमा घर पुगेर टीका लगाउन आठदेखि दश पटक मात्र पाएको बताउँछन्। प्रहरी सेवामा प्रवेश गर्नुअघि विद्यार्थी जीवनमा मनाएको दसैं र अहिले जिम्मेवारी सम्हालेर मनाउने दसैंबीच ठूलो अन्तर रहेको उनी सम्झछन्।
आफ्नो बाल्यकालको दसैं सम्झँदै भन्छन्, ‘दिदि बहिनीलाई टिका लगाएर पैसा दिने तर आफुलाई नदिएपछि रुदा एक रुपैयाँको सिक्का दिने गर्थे। अलि ठुलो भएपछि गाउँघरमा दसैंको तयारी सामूहिक रूपमा गरिन्थ्यो। गाउँलेहरू मिलेर बाटो खन्ने, बाटो सफा गर्ने र पिङ हाल्ने काम गर्थे। पिङका लागि आवश्यक काठ जुटाउनसमेत गाउँलेहरू सामूहिक रूपमा जुट्थे।’
दसैंको रमाइलो घरभित्र सीमित हुँदैनथ्यो। फुलपातीको दिनबाट गाउँका विभिन्न घरमा खसी काट्ने, आफन्त र छिमेकीसँग भेटघाट गर्ने तथा भुटुवा खाने चलन थियो। नवमीका दिन गाउँको देवीस्थान अर्थात् कोटमा पूजा गर्न जाने परम्परा पनि थियो। त्यस बेलामा प्रत्येक वर्ष गाउँका एक–दुई परिवारको पाँच बाली पर्ने गथ्र्यो।
रेग्मीका लागि ती सम्झनाहरू आज पनि उत्तिकै आत्मीय छन्। तर, प्रहरी सेवामा प्रवेश गरेपछि दसैंको प्राथमिकता बदलियो। जिम्मेवारी बढेसँगै चाडपर्वमा घर जाने अवसर सीमित हुँदै गयो। प्रहरी सेवाको इन्सपेक्टरका रुपमा कार्यरत रहँदा पालो मिलाएर बिदामा जाने व्यवस्था हुन सक्ने भए पनि कार्यालय प्रमुखको जिम्मेवारीमा पुगेपछि त्यो अवसरसमेत सहज नहुने उनी बताउँछन्। आफूले जिम्मेवारी सम्हालेको कार्यालयमा चाडपर्वको समयमा पनि नेतृत्व दिनुपर्ने भएकाले परिवारसँग समय बिताउन कठिन हुने उनी बताउँछन्।
कसरी मनाइन्छ प्रहरी कार्यालयमा दसैं
प्रहरी कार्यालयमा परम्परागत मौलो पूजा हुन्छ। कार्यालय प्रमुखले पाल्लै पालो प्रहरी कर्मचारीलाई टीका लगाइदिने गरिन्छ। प्रदेश प्रहरी कार्यालयमा १५० जना प्रहरी कमचारी रहेका छन्। नागरिकको सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गर्नुपर्ने भएकाले प्रदेशका अन्य क्षेत्रमा समेत खटिएका छन्। बागमती प्रदेश प्रहरी कार्यालयमा पनि कर्मचारीको पालो मिलाएर टीका लगाउने व्यवस्था गरिएको रेग्मीले बताए।
विशेष सुरक्षा योजनाअन्तर्गत केही कर्मचारीलाई बाहिर परिचालन गरिएकाले कार्यालयमा रहेका कर्मचारी तथा नजिकका कार्यालयबाट आउने प्रहरी कर्मचारीलाई समेत समेटेर टीका लगाउने व्यवस्था गरिन्छ। तर, यसअघिका दसैंमा जस्तो रमाइलो कार्यक्रमहरुको आयोजना हुदैन्। यसपाली दसैं अघि नै देशले दुई वटा विनाशकारी बाढीको सामना गर्नुपरेको छ। भोटेकोशी बाढीका कारणले प्रहरी अधिकृतसहित धेरै सर्वसाधारणले ज्यान गुमाउन परेको छ।
प्रहरी सेवामा प्रवेश गरेपछि चाडपर्वमा घर जान नपाउनु रेग्मीका लागि पनि सहज थिएन। विशेषगरी सेवाको सुरुवाती दिनमा परिवारसँग दसैं मनाउन नपाउँदा अप्ठ्यारो महसुस भएको उनी सम्झन्छन्। २०५६ सालमा प्रहरी तालिम सकेपछि दसैं मनाउन घर जाने अवसर नपाएको एउटा घटना उनी आज पनि सम्झन्छन्।
तालिम सकिएलगत्तै उनी साफ खेलकुद प्रतियोगिताको सुरक्षामा खटिए। त्यसपछि थप तालिम तथा जिम्मेवारीमा जानुपर्यो। त्यसपछि घर फर्केर दसैं मनाउने उनको योजना पूरा हुन सकेन। उनी प्रहरी सेवामा प्रहरी प्रवेश गरेको वर्षमा नै तालिमका कारण घर जान पाएका थिएनन्। त्यस समय घर जान नपाउँदा निकै अप्ठ्यारो महसुस भएको उनी सम्झन्छन्। तर, समयसँगै प्रहरी सेवाको जिम्मेवारी र त्यसको महत्त्व बुझ्दै जाँदा व्यक्तिगत चाडपर्व छुट्नु ठूलो विषय नलाग्ने अवस्था आएको उनको अनुभव छ।
उनी भन्छन्, ‘आफू इन्चार्ज भएको ठाउँमा अरूसँग रमाइलो गरेर बस्नेभन्दा पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ।’ उनका अनुसार प्रहरी सेवाको सुरुवाती चरणमा चाडपर्वमा घर जान नपाउँदा बढी दुःख लाग्न सक्छ। तर, अनुभव बढ्दै जाँदा जिम्मेवारीलाई आत्मसात् गर्ने बानी बस्छ।
चार बहिनीको सम्झनामा बालिकासँग भाइटीका
उनको प्रहरी सेवाको सबैभन्दा भावुक स्मृतिमध्ये एउटा तिहारसँग जोडिएको छ। उनले प्रहरी सेवा प्रवेश गरेपछि आफ्नो टोलीसहित अपरेसनमा खटिएका बेला भाइटीकाको दिन उनलाई घर र बहिनीहरूको सम्झनाले निकै भावुक बनाएको थियो। चार जना बहिनीसँग पहिला सधै टिका लगाएका उनलाई त्यस वर्षको भाइटीकाका दिन बहिनीहरूसँग टीका लगाउन नपाउँदा मन खिन्न भएको थियो। त्यही क्रममा उनले आफू खटिएको क्षेत्रमा एउटी बालिकालाई बहिनी बनाएर टीका लगाइदिन आग्रह गरे। तर उनले आफूलाई हतार भएको भन्दै टीका लगाउन नसक्ने बताएपछि उनी अर्को घर पुगे।
त्यहाँ आर्थिक रूपमा निकै कमजोर परिवार थियो। घरमा खानाका लागि पर्याप्त सामग्रीसमेत थिएन। त्यही घरकी सानी बालिकालाई उनले बहिनी मानेर टीका लगाइदिन आग्रह गरे र दक्षिणा दिए। बहिनीको घरमा केही खानुपर्ने हुन्छ। तर त्यस घरमा अन्य खानेकुरा केही नभएकाले गर्दा घरबाहिर रहेको मौरीको घारबाट मह निकालेर खाएको प्रसंग पनि उनी सम्झछन्।
त्यसैगरि, उनले चाडपर्वलाई भड्किलो र खर्चिलो बनाउन नहुने बताउँछन्। मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने, सामाजिक मर्यादा उल्लङ्घन गर्ने तथा अरूलाई असुरक्षित बनाउने गतिविधिबाट टाढा रहनुपर्ने उनी बताउँछन्। आर्थिक अवस्था कमजोर भएका व्यक्ति तथा परिवारलाई समेत सम्झेर चाडपर्व मनाउनुपर्ने उनको आग्रह छ।
दसैंका नाममा अनावश्यक खर्च गर्नुको सट्टा खर्चमा मितव्ययिता अपनाउने र सम्भव भए आवश्यकतामा परेकालाई सहयोग गर्ने बानी बसाल्नुपर्छ। यससँगै व्यक्तिगत सुरक्षामा पनि विशेष ध्यान दिनुपर्छ। राति अबेरसम्म असुरक्षित स्थानमा हिँडडुल गर्ने, महँगा गहना प्रदर्शन गरेर हिँड्ने, घर छाड्दा आवश्यक सावधानी नअपनाउने र अपरिचित व्यक्तिले दिएको खानेकुरा वा पेय पदार्थप्रति सचेत नहुने व्यवहारले जोखिम बढाउन सक्छ। चाडपर्वमा प्रहरीको सुरक्षा व्यवस्था महत्त्वपूर्ण भए पनि व्यक्तिगत सतर्कता उत्तिकै आवश्यक छ।
आफ्नो घरको सुरक्षादेखि यात्राका क्रममा अपनाउनुपर्ने सावधानीसम्म नागरिक आफैँ जिम्मेवार हुनुपर्छ। दसैंमा प्रहरी कर्मचारीले परिवारसँग समय बिताउन नपाउनु, टीका लगाउन नपाउनु वा वर्षौँसम्म घर जान नपाउनु उनीहरूको सेवाको एउटा पाटो हो। तर, उनीहरूको यही जिम्मेवारीले लाखौँ नागरिकलाई सुरक्षित रूपमा चाडपर्व मनाउने वातावरण प्रदान गर्छ। बागमती प्रदेश प्रहरी प्रमुख रेग्मीका लागि पनि दसैंको अर्थ यही हो।






About Us
प्रतिक्रिया