प्रहरी उपरीक्षक अंगुर जिसीलाई पूर्ण शान्ति पुरस्कार


काठमाडौं – बाँके जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक  (एसपी) अंगुर जिसीले पूर्ण शान्ति पुरस्कार प्राप्त गरेका छन्। ७१ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री सुधन गुरुङले एसपी जिसीलाई पुरस्कार प्रदान गरेका हुन्।

जिसीले विभिन्न गम्भीर आपराधिक घटनाका फरार अभियुक्तलाई पक्राउ गरी अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। इन्तजार मोहम्मद अरबी खानको हत्या, सिर्जना बुढामगरलाई जलाएर हत्या गरिएको घटना, अप्सना बस्नेतको अपहरण तथा हत्या र विशाल चन्द ठकुरीको हत्यामा संलग्न फरार अभियुक्तलाई पक्राउ गर्न उनले नेतृत्व गरेका थिए।

आर्थिक वर्ष २०८२/८३ मा बाँके प्रहरीले लागू औषधसम्बन्धी मुद्दामा ३८२ जनामाथि अनुसन्धान गरेको थियो। त्यसैगरी, जिसीको नेतृत्वमा प्रहरीले गत आर्थिक वर्षमा तस्करीका सामानसहित तीन करोड ४७ लाख रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको थियो। तस्करीमा प्रयोग भएका ४७ वटा सवारीसाधन बरामद गर्नुका साथै तस्करीमा संलग्न ६२ जनालाई पक्राउ गरिएको थियो। साथै, गत आर्थिक वर्षमा जिसीको नेतृत्वमा रहेको प्रहरी टोलीले विभिन्न मुद्दाका ५७७ जना फरार प्रतिवादीलाई समेत पक्राउ गरेको थियो।