ट्याक्सी चालकलाई धारिलो हतियार देखाई नगद र मोबाइल लुटपाट गर्ने चार जना पक्राउ


काठमाडौं – लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सूर्यविनायक नगरपालिका–७ गुण्डु बस्ने दोलखा घर भएका १९ वर्षीय सौरभ मगर, २० वर्षीय अस्मित गजमेर, रामेछाप घर भएका १९ वर्षीय नविन राउत र काठमाडौं कीर्तिपुर नगरपालिका– ६ चारघरे बस्ने ३० वर्षीय निल कुमार बस्नेत रहेका छन्।    

सूर्यविनायक नगरपालिका–४ अनन्त लिङ्गेश्वरस्थित खड्का गाउँमा ट्याक्सी चालकलाई मंगलबार धारिलो हतियार देखाई नगद र मोबाइल लुटपाट गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनीहरू माथि डाँका चोरी मुद्दामा जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।