१० लाख रुपैयाँ घुस लिएको आरोपमा नापी अधिकृत वलीविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्लीबहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार वलीले छुट जग्गा दर्ताको सिफारिससहितको मिसिल तथा आवश्यक कागजात भूमि प्रशासन कार्यालय मनमैजु काठमाडौंमा पठाउने र छुट जग्गा दर्ताको काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १० लाख रुपैयाँ घुस मागेका थिए।

घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले वलीलाई घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। आयोगले गरेको अनुसन्धानबाट वलीले छुट जग्गा दर्तासम्बन्धी काम सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग १० लाख रुपैयाँ घुस माग गरी लिएको पुष्टि भएको जनाएको छ।

अख्तियारले वलीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा १० लाख रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद तथा बिगो बमोजिम जरिवाना सजायको मागदाबी गरी आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको छ।