काठमाडौं – नेपालमा लगानीकर्ताहरूलाई सुसूचित बनाउने लक्ष्यसहित साता व्यापी इन्भेष्टर विक–२०२६ सुरु भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)को अगुवाइमा नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एण्ड क्लियरिङ, ब्रोकर कम्पनीहरू, रेटिङ कम्पनी र मर्चेन्ट बैंकसहितको संलग्नतामा इन्भेष्टर्स विक सुरु भएको हो। आज १९ गतेदेखि सुरु भएको यो कार्यक्रम असोज २५ गतेसम्म चल्नेछ।
यो कार्यक्रम देशव्यापी रूपमा मनाउन लागेको हो। विशेषगरी साधारण तथा साना लगानीकर्ता तथा विद्यार्थीहरूलाई पुँजी बजार बारे शिक्षित बनाउन र जनचेतना जगाउने उद्देश्यले यो कार्यक्रम साताव्यापीरुपमा आयोजना हुने गर्छ। खासगरी, लगानीकर्ताहरूलाई शिक्षित बनाउने लक्ष्यसहित विश्वभर नै यो हप्ता इन्भेष्टर्स विक हुने गर्छ। २०१७ देखि विश्वव्यापी रूपमा यो कार्यक्रम आयोजना हुँदै आएकोमा नेपालमा पनि सोही मितिदेखि सो कार्यक्रम आयोजना हुँदै आएको छ।
के हो वल्ड इन्भेष्टर विक ?
वल्ड इन्भेष्टर विक धितोपत्र बजारको अन्तर्राष्ट्रिय संस्था ‘आईओएससीओ’ ले प्रवर्द्धन गरेको एक हप्ता लामो विश्वव्यापी चेतनामूलक कार्यक्रम हो। यो कार्यक्रम सन् २०१७ देखि हरेक वर्ष अक्टोबर महिनामा विश्व भरी विभिन्न कार्यक्रमहरूको आयोजना गरी साप्ताहिक रूपमा मनाउँदै आएको छ। यो कार्यक्रमको मुख्य उद्देश्य लगानीकर्ताहरूको शिक्षा र सुरक्षाको महत्वबारे जनचेतना जगाउनका साथै शेयर र धितोपत्र बजारका नियामक निकायहरूले चालेका कदमहरूलाई प्रवर्द्धन गर्नु रहेको छ।
नेपाल पनि नेपाल धितोपत्र बोर्ड (सेबोन) मार्फत यस अभियानमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ। सेबोनले आईओएससीओको एशोसिएट सदस्य राष्ट्रका हैसियतले यस कार्यक्रम सन् २०१७ देखिनै सक्रियतापूर्वक मनाउँदै आइरहेको छ। यो को दसौँ संस्करणको कार्यक्रम हो यसको मूल नारा ‘ आफ्नो भविष्यमा लगानी गर्नुहोस् यसलाई आजै सुरक्षित गर्नुहोस्’ रहेको छ।






About Us
प्रतिक्रिया