हिम्लुङ हिमपहिरोमा मृत्यु हुनेको संख्या १५ पुग्यो, एक जना अझै बेपत्ता


काठमाडौं – मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ क्षेत्रमा आएको हिमपहिरोमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ। हिम्लुङ हिमपहिरोमा परेका २७ जनामध्ये ११ जना सकुशल रहेको तथा १६ जना सम्पर्कविहीन भएकोमा खोज तथा उद्धारका क्रममा हालसम्म १५ जनाको शव फेला परेको हो। 

साथै, एक जना अझै बेपत्ता छन्। बेपत्ता रहेका ओखलढुंगा घर भएका ३८ वर्षीय पासाङ नुरी शेर्पाको भने अझै खोजी भइरहेको प्रहरीले जनाएको छ।

असोज ११ गते राति हिम्लुङ क्षेत्रमा हिमपहिरो आएको थियो। त्यसअघि काठमाडौंबाट हिमालय होलिडे कम्पनीका २१ जना नेपाली पुरुष र इमेजिङ नेपाल कम्पनीका ६ जना नेपाली पुरुष गरी २७ जना मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ क्षेत्रमा बेस क्याम्प स्थापनाका लागि पुगेका थिए।