असोज १५ सम्म कुनैपनि कम्पनीले पाएनन् आईपीओ बिक्रीको अनुमति


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्षले असोजको १५ गतेसम्ममा कम्तीमा पनि तीन कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति दिने बताएका थिए। अध्यक्ष भट्टले २०८३ भदौ २१ गतेको नेपाल क्यापिटल मार्केट डिस्कोर्शमा बोल्दै असोज १५ गतेसम्म धेरै कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिने बताएका थिए। तर, उनले बताएअनुसार असोज १६ गतेसम्म कुनै पनि कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति पाएनन्।

सेबोनको तथ्यांक अनुसार ६ महिनादेखि कुनै पनि कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति पाएका छैनन्। २०८३ वैशाख २ गते बोर्डका तत्कालीन अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिनु अघि एभरेष्ट कलर लिमिटेड सहित ३ कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति पाएका थिए। तर, सेबोनले नयाँ अध्यक्ष पाएयता हालसम्म कुनैपनि कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएको छैन। सेबोनको पाइपलाईनमा आईपीओ निष्कासनका लागि अनुमति मागेर बस्ने कम्पनीको संख्या ११२ पुगेको छ। तर निष्कासनको अनुमति पाउने कम्पनी शून्य छ।

के भनेका थिए अध्यक्ष भट्टले?
हामी आईपीओ प्रक्रियाका लागि सम्भव भएसम्म एक सातामा कुनै एउटा फाइलको ‘पाइलट टेस्टिङ’ गरेर अगाडि बढिरहेका छौँ। त्यसलाई पूर्णता दिएर बोर्डमा पेस गरिनेछ। त्यसपछि आईपीओको प्रक्रिया थप सहज हुन्छ। यसका लागि सूचीकृत भएका हाइड्रोपावर कम्पनीका धेरै फाइलहरू छन्। हामीले हाइड्रो, म्यानुफ्याक्चरिङ, होटेललगायत विभिन्न सेक्टरका लागि विशेष निर्देशिकाहरू पनि बनाइसकेका छौँ। साथै, आईपीओको योग्यतासम्बन्धी फारामहरू पनि तयार गरिसकेका छौँ। कागजातहरू सबै तयार छन्।

अब त्यसको स्वामित्व सबैले लिँदै, त्यसमाथि छलफल गर्दै कार्यान्वयनको चरणमा लैजाँदै छौँ। आईपीओ प्रक्रियालाई अब अन्तिम चरणमा पु¥याउन मात्रै बाँकी छ। सम्भवतः एक–दुई हप्ताभित्र हामी आईपीओ प्रक्रिया अघि बढाउँछौँ। राम्रा कम्पनीहरू छानेर क्रमशः योग्य कम्पनीहरूको ‘स्कोरकार्ड’ पनि बनाएका छौँ। त्यसमा नम्बर दिइन्छ। तोकिएको अंकमा पास हुने कम्पनीहरू बजारमा आउँछन्। यस क्रममा असोज १५ भित्र धेरै कम्पनीको आईपीओ आउनेछन्।