सीएनआईवाईईएफ र द स्टार्टअप नेटवर्क नेपालबीच साझेदारी


काठमाडौं – नेपालको स्टार्टअप तथा उद्यमशीलता वातावरण थप सशक्त, लगानीमैत्री र देशव्यापी बनाउने उद्देश्यले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) र द स्टार्टअप नेटवर्क नेपाल (टीएसएन) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारी अनुसार सीएनआईवाईईएफ र टीएसएनले संयुक्त रूपमा ‘फाउन्डर्स हब’ नामक इन्क्युबेसन तथा एक्सेलेरेसन कार्यक्रम सञ्चालन गर्नेछन्। फाउन्डर्स हबमार्फत प्रत्येक वर्ष १ सय वटा स्टार्टअपलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ। सहभागी स्टार्टअपलाई व्यवसाय विकास, परामर्श, उद्योगसँगको पहुँच, सम्बन्ध विस्तार, लगानीको तयारी तथा सम्भावित लगानीकर्तासँग जोड्दै लगानीका नयाँ अवसर सिर्जना गरिने छ।

समझदारीपत्रमा सीएनआईवाईईएफका निवर्तमान अध्यक्ष मनिष श्रेष्ठ र टीएसएनका प्रमुख सञ्चालन अधिकृत सौगात ओझाले हस्ताक्षर गरे। यस साझेदारी अन्तर्गत सीएनआईवाईईएफले आफ्ना सदस्य तथा साझेदार संस्थाहरूको सञ्जाल मार्फत टीएसएनका कार्यक्रमका लागि सम्भावित प्रायोजक, संस्थागत साझेदार र अन्य सरोकारवालासँग सहकार्य विस्तार गर्न सहजीकरण गर्ने छ।

यो सहकार्य काठमाडौंमा मात्र सीमित नरही नेपालका विभिन्न सहर तथा उदीयमान उद्यमशीलता केन्द्रहरूमा विस्तार गरिने छ। नवप्रवर्तन र उद्यमशीलताको पहुँच देशका विभिन्न भूगोलसम्म पुर्‍याउँदै स्थानीयस्तरमै नयाँ व्यवसाय र उद्यमी जन्माउने लक्ष्य यस साझेदारीले लिएको छ।