यात्रुको सहजताका लागि यातायात व्यवस्था विभागको वेबसाइटमै ‘भाडा दर खोजी’ सुविधा


काठमाडौं – नजिकिँदै गरेको चाडपर्वलाई लक्ष्य गर्दै यातायात व्यवस्था विभागले यात्रुहरुको सहजताका लागि आफ्नो आधिकारिक वेबसाइटमा डिजिटल रूपमा भाडा दर हेर्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको छ। यसअघि विभागको वेबसाइटमा पिडिएफ  फाइलमा मात्र लामो सूचीसहितको भाडादर राखिने गरिएकोमा अब भने सेवाग्राहीले अनलाइनमै सहजै सर्च गरेर (खोजेर) आफ्नो गन्तव्यको भाडा हेर्न सक्ने भएका हुन्।

विभागका निर्देशक मणिराम भुसालका अनुसार गत असारमै समायोजन भएको भाडादरलाई सर्वसाधारणले सजिलै बुझ्ने र हेर्न सक्ने गरी आइटी शाखामार्फत वेबसाइटमा डिजिटल प्रणालीमा राखिएको हो। विभागको वेबसाइटमा गएर ‘भाडा दर खोजी’ विकल्पमा क्लिक गरी आफ्नो प्रस्थान बिन्दु र गन्तव्य (जस्तैः काठमाडौंदेखि पोखरा) छानेपछि यात्रुले सजिलै तोकिएको आधिकारिक भाडादर थाहा पाउन सक्नेछन् ।

निर्देशक भुसालले भने, ‘वेबसाइटमा स्वीकृत सबै रुटहरुको भाडादर राखिएको छ। यदि कुनै ठाउँको अपडेट गर्न बाँकी रहेको भए आजै प्रशासन र आइटी शाखालाई निर्देशन दिएर देशभरका सबै एप्रुभ्ड रुटहरुको भाडादर अद्यावधिक गरिनेछ।’ दशैँ, तिहार, छठजस्ता चाडपर्वको समयमा यात्रुहरू ठगिने र तोकिएको भन्दा बढी भाडा तिर्नुपर्ने गुनासो बढी आउने गर्छ । यो डिजिटल प्रणालीले अब सेवाग्राहीलाई कुन ठाउँको भाडा कति छ भनेर मोबाइलबाटै यकिन गर्न सहज बनाउनेछ ।