काठमाडौं – आधारभूत शेयर बेच्नुअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी दिनुपर्ने व्यवस्था आएपछि ३३ लगानीकर्ताले ७५ लाख कित्ता शेयर बेच्न लागेका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले निर्देशिकामार्फत शेयर बेच्नुअघि सूचना दिनुपर्ने व्यवस्था गरेयता विभिन्न कम्पनीका ३३ शेयरधनीले सो कित्ता शेयर बेच्ने सूचना नेप्सेमा पठाएका हुन्।
सेबोनले निर्देशिकामार्फत कुनै पनि शेयरधनीले कम्पनीको ५ वा सोभन्दा बढी प्रतिशत शेयर बेच्नुअघि १५ दिनअघि सूचना दिनुपर्ने बाध्यात्मक व्यवस्था गरेको थियो। सेबोनले यही भदौ ९ गते बजार निगरानी, लगानीकर्ता संरक्षण तथा व्यवस्थित कारोबारको साधनका रूपमा विकास गर्ने उद्देश्यले सूचिकृत कम्पनीहरूका लागि सो निर्देशन जारी गरेको थियो।
निर्देशनअनुसार शेयरधनीले कम्पनीलाई जानकारी गराउनुपर्ने र कम्पनीले नेप्सेलाई जानकारी गराउनुपर्नेछ। सेबोनले सार्वजनिक निष्कासन व्यवस्था मिलाउनका लागि ‘धितोपत्र सम्बन्धी ऐन, २०६३’ को दफा ९८४० १ अनुसार उक्त निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार शेयरधनीहरुले धमाधम कम्पनीलाई ५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्रीका लागि जानकारी दिन थालेका हुन्।
नेप्सेका अनुसार सो व्यवस्थापछि १ महिनाको अवधिमा ९ वटा कम्पनीका ३३ जना शेयरधनीले ७५ लाख कित्ता बढी शेयर बिक्री गर्न लागेको जानकारी दिएका छन्। सूचनाअनुसार यस अवधिमा इमर्जिङ्ग नेपाल र कालिन्चोक दर्शनका शेयरधनीहरूले कुल २६/२६ लाख कित्ता शेयर बिक्री गर्ने सूचना दिएका छन्। जसमा इमर्जिङ नेपालको १२ जना र कालिन्चोक दर्शनका १२ जना शेयरधनी रहेका छन्।

त्यस्तै, हाथवे इन्भेष्टमेन्ट नेपालका तीन जनाले कुल ८ लाख ८५ हजार कित्ता शेयर बेच्न लागेका छन् भने क्लीन इनर्जी कन्सल्टेन्ट्सको नाममा रहेको पिपुल्स हाइड्रोपावरको ३ लाख ४५ हजार कित्ता बिक्री गर्न लागिएको छ। यसैगरी, मोलुङ्ग हाइड्रोपावरको १ लाख ७ हजार कित्ता, भगवती हाइड्रोपावर डेभलपमेन्टका दुई शेयरधनीले झन्डै ७ लाख कित्ता, अप्पर लोहोरे खोला हाइड्रोपावरको दुई शेयरधनीले करिब २ लाख कित्ता शेयर बेच्ने जानकारी दिएका छन्।
त्यस्तै, अपर हेवाखोला हाइड्रोपावरका एक लगानीकर्ताले ८० हजार कित्ता र डोल्मा इम्प्याक्ट फन्डको नाममा रहेको श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयर पनि बेच्न लागिएको सूचना नेप्सेलाई आएको छ। तर, फन्डले यो कम्पनीको कति कित्ता शेयर बिक्री गर्न लागेको भन्ने खुलाएको छैन।
को हुन् आधारभूत शेयरधनी ?
सेबोनका अनुसार २५ करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएका संस्थामा १ प्रतिशत वा सोभन्दा बढी शेयर रहेका तथा अन्य अवस्थामा पाँच प्रतिशत वा सोभन्दा बढी शेयर रहेका लगानीकर्तालाई आधारभूत शेयरधनी भनिन्छ।






About Us
प्रतिक्रिया