काठमाडौं – नेपालको शेयर बजारमा ९० वटा स्टक ब्रोकर, दुई वटा स्टक डिलर र झन्डै ४० खर्ब रुपैयाँभन्दा बढी बजार पुँजीकरण छ। यस क्षेत्रले ३ हजारभन्दा बढी व्यक्तिहरूलाई प्रत्यक्ष रूपमा रोजगारी सृजना गरेको छ। साथै, ८० लाख लगानीकर्तालाई सेवा समेत दिइरहेको छ। यो स्तरको पुँजी, रोजगारी सिर्जना र यो स्तरको सेवा दिएको ब्रोकरहरूलाई केही समय अगाडिसम्म लगानीकर्ताले दिएको आदेश, ‘बाई एन्ड सेलिङ’ को अर्डर कार्यान्वयन गर्ने मात्रै भूमिका थियो।
केही समय अगाडि नियमावली संशोधन गरेर ब्रोकरहरूलाई पनि वर्गीकरण गरेको छ। पुँजीको आधारमा २० करोड, ६० करोड र डेढ अर्ब रुपैयाँको गरी ३ श्रेणीको ब्रोकरहरू कार्यान्वयनमा छन्। त्यसमा २० करोडको ब्रोकरले ग्राहकको अर्डर हान्दिन पाउने, मार्जिन ल्यान्डिङको काम गर्न पाउने, क्लियरिङ एन्ड सेटलमेन्टको रूपमा निक्षेप सदस्यको रूपमा र डिपीको रूपमा काम गर्न पाउने व्यवस्था छ।
त्यस्तै, ६० करोडको ब्रोकरमा २० करोडको ब्रोकरले गर्न पाउने सबै काम र त्यसमा परामर्श ‘पीएमएस’ र योग्य संस्थागत लगानीकर्ताको रूपमा काम गर्न पाउने क्षेत्राधिकार हामीलाई दिएको छ। डेढ अर्ब रुपैयाँको ब्रोकर डिलरको रूपमा यी सबै काम र स्टक डिलरको रूपमा आफ्नो लगानीका लागि आफ्नै विन्डोबाट शेयर किन्न पाउने व्यवस्था अहिले भएको छ। तर, हामी अब नेपालको शेयर बजारलाई अन्तर्राष्ट्रिय स्तरको पुँजी बजार बनाउने भनेर लागेका छौँ।

धितोपत्र बोर्ड (सेबोन)को १० वर्षे मार्ग चित्रमा समेत यो कुरा आइसकेको छ। इन्भेस्टमेन्ट बैंकिङ्गको धारणाबाट आज मर्चेन्ट बैंकरहरूले म्युचुअल फण्डको योजना सञ्चालन गर्छन्, सेयर व्यवस्थापन, आरटीएस लगायतको काम गर्छन्। यी सबै कामलाई एउटा म्युचुअल फण्डको भागलाई छुट्याएर लगानी बैंकिङ्ग क्षेत्र भित्र ल्याएर एकीकृत रूपमा एउटै ठाउँबाट भर्न सकेमा पुँजी बजार झनै व्यवस्थित बन्छ।
बजार निर्माताकारूपमा केही संस्थाहरूलाई अनुमति दिइएको थियो। उनीहरूको प्रभावकारी कार्यान्वयन भएन र अहिले बजार निर्माताको रूपमा सक्रिय भएर कसैले पनि काम गरेका छैन। ठुलो क्यापिटलको लगानीसहित हजारौंलाई रोजगारी दिएको अवस्थामा १५० करोड सीमाको क्यापिटल पुर्याएको स्टक डिलरहरूलाई मार्केट मेकरकोरुपमा जिम्मेवारी दिन सकेमा राम्रो हुन्छ।
नेपालको शेयर बजारको इतिहास धेरै लामो छ। तर, बजारको आजसम्मको विकासलाई हेर्ने हो भने नेपालको शेयर बजार एसियाली मुलुकहरूमा अन्तिमको पाँचौँ नम्बर भित्र पर्छ। नेपालको शेयर बजारलाई पाँच वा १० वर्षमा अन्तर्राष्ट्रिय स्तरको बनाउने हामीले परिकल्पना गरेका छौँ। यसका लागि सोहीअनुसारको पूर्वाधार चाहिन्छ र नियामकलाई पनि सोहीस्तरको बनाउनुपर्छ।
त्यस्तै, ‘मार्केट अपरेटर’ नेपाल स्टक एक्सचेन्जको सुदृढीकरण, प्रोडक्ट डाइर्भिफिकेसन र विदेशी लगानीकर्तालाई नेपाल भित्राउनेसम्मको काम गर्नुपर्छ। पाँचदेखि दश वर्ष भित्र यी कामहरू गर्न सक्ने वा नसक्ने भन्ने विषय नेपाल सरकारमा समेत निहित छ। धितोपत्र बोर्डले मार्गचित्र बनाएर अगाडि बढेको छ। बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन स्वदेशी लगानीकर्ताहरूको मनोबल जित्नुपर्छ।

लगानीकर्ता संरक्षणका लागि हामीले धेरै काम गर्नुपर्नेछ। र गरिरहेका पनि छौँ। सेबोनको उद्देश्य पनि अहिले त्यही छ। नेपालको शेयर बजारमा विदेशी लगानीकर्ता ल्याएर अन्तर्राष्ट्रिय स्तरको बजार कसरी बनाउने कुरामा हामीले गहन अध्ययन, विश्लेषण र आत्म समीक्षा गर्नुपर्छ। आजको ‘वान वे मार्केट’लाई परिष्कृत गर्दै अन्तर्राष्ट्रिय स्तरको बनाउनु पर्छ। एनआरएनलाई क्यापिटल मार्केटमा परिचित गराउने भन्ने कुरा आर्थिक वर्ष २०६५÷६६ को बजेटदेखि सुन्दै आएको कुरा हो।
आज पनि एनआरएनले आफ्नो नाममा भएको शेयर बिक्री गर्दाको समस्याहरू भोगिरहेका छन्। कारोबार गरेको छ, सेटलमेन्टको कुरामा इडीआईएस गर्न मिल्दैन। उनीहरूलाई कानुनसम्मत २५ प्रतिशत करको व्यवस्था छ, यो कम्प्लिकेसन हो। यस्ता नीतिगत झन्झटहरूलाई पहिला सुधार्न पर्छ। त्यस्तै, एनआरएनए डेभलपमेन्ट फन्ड भनेर क्यापिटल मार्केटमा विदेशी लगानी ल्याउनका लागि अन्तर्राष्ट्रिय अभ्यासअनुसार एफडीआईको रूपमा विदेशी लगानी आएको छ।
यो सेकेन्डरी मार्केटमा आएको लगानी होइन, यो कुनै पनि कम्पनी स्थापनाको चरणमा पहिलो संस्थापकको रूपमा आएको पैसा हो। अथवा एफडीआई एउटा ऋणको रूपमा आएको पैसा हो। सेकेन्डरी मार्केटमार्फत विदेशी लगानी ल्याउने हो भने ‘फरेन पोर्टफोलियो इन्भेस्टमेन्ट’ लाई नेपाल सरकाले सजिलै ल्याउन सक्छ।
(नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६ को पहिलो सत्र ‘उत्पादन, नीति तथा नियमन: नेपालको पुँजी बजारको भविष्य’ अन्तर्गत भिजन सेक्युरिटिजका कार्यकारी अध्यक्ष तिमिल्सिनाले राखेको मन्तव्य)






About Us
प्रतिक्रिया