काठमाडौं – रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण हुने २२।५० मेगावाट क्षमताको जाल्दीगाड जलविद्युत आयोजनाका लागि ४ अर्ब ६० करोड रुपैयाँ लगानी जुटेको छ। सांग्रिला हाइड्रोपावर प्रा।लि।ले प्रवर्द्धन गर्ने आयोजनामा राष्ट्रिय वाणिज्य बैंकको नेतृत्वमा नेपाल बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले संयुक्त रूपमा ३ अर्ब ३६ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन्। बाँकी १ अर्ब २३ करोड ७१ लाख रुपैयाँ प्रवर्द्धकहरूको इक्वीटी लगानी रहनेछ।
आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा सांग्रिला हाइड्रोपावरका अध्यक्ष खगेन्द्र न्यौपाने र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हस्ताक्षर गरेका छन्। सम्झौता सम्बन्धि कार्यक्रममा नेपाल बैंक र निफ्राका प्रतिनिधिहरू समेत उपस्थित थिए।जाल्दीगाड नदीमा निर्माण हुने आयोजनाबाट वार्षिक १३३।४५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ। आयोजनाको निर्माण अवधि ३३ महिना तोकिएको छ । आयोजनाका लागि आवश्यक जग्गा खरिदलगायत अधिकांश पूर्वतयारीका काम सम्पन्न भइसकेका छन्। अब वित्तीय व्यवस्थापनको काम पनि सम्पन्न भएकाले निर्माण कार्यलाई तीव्रता दिइने कम्पनीका प्रबन्ध सञ्चालक कृष्ण प्रसाद घिमिरेले बताए।
अनुभवी प्रवर्द्धक
जाल्दीगाड आयोजना प्रवर्द्धन गर्ने समूहले यसअघि गोरखामा ४.५५ मेगावाटको विकास हाइड्रोपावर आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ। कम्पनीले उक्त आयोजना निर्धारित समयभन्दा करिब ६ महिना अगावै सम्पन्न गरेको थियो। विकास हाइड्रोपावर सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशनसमेत गरिसकेको कम्पनी हो।
त्यस्तै, यही समूहले गोरखामा ४.६ मेगावाट क्षमताको बूढीगण्डकी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ। जसबाट आगामी ६ महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। यसरी, अनुभवी समूहले नै २२।५० मेगावाटको जाल्दीगाड आयोजना निर्माण गर्ने भएकाले यो आयोजना पनि समयमै निर्माण सम्पन्न हुने विश्वास लिइएको छ।






About Us
प्रतिक्रिया