काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले भोटेकोशी बाढीले सडक र पुल मात्रै नभई नागरिकको जीवनयापनको आधार नै तहसनहस बनाएको भन्दै विपत्तिपछि आउन सक्ने आपूर्ति संकटप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्। बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद अधिकारीले भोटेकोशी बाढीबाट कैयौँ परिवार शोकमा परेको र हजारौँ नागरिक घरबार तथा सहाराविहीन भएको बताइन्। विपत्तिको घाउ नसेलाउँदै सडक तथा सीमा नाका अवरुद्ध हुँदा अर्को संकट निम्तिन सक्ने उनको चेतावनी छ।
उनले तातोपानी र रसुवागढी नाका बन्द रहेको, बीपी राजमार्ग छिन्नभिन्न भएको तथा पृथ्वी राजमार्गको कृष्णभीर अवरुद्ध रहेको उल्लेख गर्दै ठूलो परिमाणको सामान बाटोमै रोकिएको बताइन्। वैकल्पिक रूपमा कोरला नाका प्रयोग गर्नुपर्ने अवस्था आए पनि त्यसतर्फको भौगोलिक दूरी र सडकको अवस्थाका कारण ढुवानी खर्च निकै बढेको उनको भनाइ छ। ‘वैकल्पिक नाका कोरलातर्फको भौगोलिक दूरी र जीर्ण सडकले ढुवानी खर्च पाँच गुणासम्म महँगो छ,’उनले भनिन्। यसको प्रत्यक्ष असर चाडवाडको समयमा उपभोग्य वस्तुको मूल्यमा पर्न सक्ने उनले बताइन्।
सांसद अधिकारीले सरकारले बेलैमा आपूर्ति व्यवस्थापनमा ध्यान नदिए इन्धन, खाद्यान्नलगायत अत्यावश्यक वस्तुको अभाव हुन सक्ने चेतावनी दिइन्। आपूर्ति कमजोर हुँदा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने र मूल्य बढाउने प्रवृत्ति बढ्न सक्ने भन्दै त्यसको सबैभन्दा ठूलो मार न्यून आय भएका नागरिकमाथि पर्ने उनको भनाइ छ। ‘विपत्तिको घाउमाथि अर्को संकट थपिँदैछ,’ उनले संसद्मा भनिन्। उनले सरकारलाई सम्बन्धित मन्त्रालयबीच तत्काल प्रभावकारी समन्वय गर्न आग्रह गरिन्।
सांसद अधिकारीले अवरुद्ध राजमार्ग तथा सीमा नाका तत्काल सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरिन्। उनले सडक र नाका खुलाउने कामलाई प्राथमिकतामा राख्दै ‘युद्धस्तरमा’ काम गर्नुपर्ने बताइन्। साथै आपूर्ति प्रणालीलाई सहज बनाएर नागरिकलाई सम्भावित अभाव र मूल्यवृद्धिबाट जोगाउन सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ। ‘जनता विपत्तिमा छन्, नागरिकलाई अभाव र महँगीको मारबाट जोगाइयोस्,’ उनले सरकारसँग आग्रह गरिन्।






About Us
प्रतिक्रिया