भोटेकोशी बाढीपीडितको अस्थायी बसोबास व्यवस्थापनका लागि सर्वेक्षण सुरु


काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका परिवारका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारले सर्वेक्षण सुरु गरेको छ। आपतकालीन अवस्थामा प्रभावित परिवारलाई सुरक्षित राख्न सञ्चालन गरिएका होल्डिङ सेन्टरबाट अब केही हप्ताभित्र प्रत्येक परिवारलाई छुट्टाछुट्टै अस्थायी बसोबासको व्यवस्था गर्ने तयारीस्वरूप सर्वेक्षण थालिएको हो।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले मंगलबारदेखि प्रभावित जिल्लामा टोली खटाएर ‘कोबो टुलबक्स’ प्रयोग गरी ‘आवश्यकता मूल्याङ्कन फारम’मार्फत सर्वेक्षण गरिरहेको छ। सर्वेक्षणबाट प्रभावित व्यक्ति तथा परिवारको विवरण, घरको क्षतिको अवस्था, परिवारका दिवंगत वा बेपत्ता सदस्यको संख्या, सरकारी सहयोगमा अस्थायी आश्रय लिने वा भाडामा बस्ने रुचि, जग्गाको उपलब्धता तथा स्थानान्तरणका उपयुक्त विकल्पबारे जानकारी संकलन गरिनेछ।

त्यसैगरी खानेपानी, सरसफाइ तथा अन्य आवश्यकताका विषयमा समेत विवरण लिइने विभागले जनाएको छ। हाल पहिलो चरणमा होल्डिङ सेन्टरमा रहेका प्रत्येक घरपरिवारको आवश्यकता पहिचान गर्न सर्वेक्षण भइरहेको छ। संकलित विवरणका आधारमा सरकारले अस्थायी बसोबास व्यवस्थापन तथा पुनःस्थापनासम्बन्धी योजना कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ। एक साताभित्र होल्डिङ सेन्टरमा रहेका प्रभावित परिवारको सर्वेक्षण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ। त्यसलगत्तै होल्डिङ सेन्टरबाहिर रहेका प्रभावित परिवारको समेत यही ‘आवश्यकता मूल्याङ्कन फारम’ प्रयोग गरी सर्वेक्षण गरिनेछ।