चितवन- चितवनमा फेला परेका शवको व्यवस्थापनसँगै हराइरहेका व्यक्तिका आफन्तको ‘डिएनए’ नमूना सङ्कलन भइरहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार हालसम्म जिल्लामा कुल ३६३ वटा शव फेला परेका छन्। तीमध्ये अधिकांश शव पहिचान गर्न नसकिने अवस्थामा रहेकाले डिएनए परीक्षण र कानुनी प्रक्रियामार्फत व्यवस्थापन गरिएको छ।
हालसम्म फेला परेका शवमध्ये १४ वटा शवको मात्र सनाखत (पहिचान) हुन सकेको छ। पहिचान खुलेका शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको एसपी पौडेलले जानकारी दिए। पहिचान खुल्न नसकेका ३४९ वटा शवको सुरक्षित व्यवस्थापन गरिसकिएको उनले बताए। शव व्यवस्थापन कार्य गत १३ भदौदेखि सुरु गरिएको थियो।
व्यवस्थापन गरिएका सबै शवको भविष्यमा आफन्तको डिएनएसँग मिलान गर्न मिल्नेगरी डिएनए नमूना सुरक्षित राखिएको छ। हराइरहेका व्यक्तिको पहिचान खुलाउन प्रहरीले आफन्तको डिएनए नमूना सङ्कलनलाई प्राथमिकता दिएको छ।हालसम्म जिल्लामा ७५ जना आफन्तको डिएनए नमूना सङ्कलन गरी विधिविज्ञान प्रयोगशालामा पठाइएको छ। सङ्कलन गरिएका नमुनामध्ये भारतीय नागरिकका आफन्तको डिएनए नमूना पनि रहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया