काठमाडौं – गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीको वित्तीय अवस्था दबाबमा देखिएको छ। गत वर्ष भएको जेनजी आन्दोलन र बेमौसमी बाढीका कारण निर्जीवन बीमा कम्पनीमा बढी दायित्व पर्दा नाफा प्रभावित बनेको हो। यति मात्रै नभई बैंकको ब्याजदरमा आएको निरन्तर गिरावटले पनि बीमा कम्पनीहरूको नाफा प्रभावित बनेको छ। बैंकको ब्याजदर घट्दै जाँदा बीमा कम्पनीहरूले बैंक तथा वित्तीय संस्थामा गर्ने लगानीबाट कमाउने ब्याज आम्दानी समेत खुम्चिने भएकाले त्यसको प्रत्यक्ष असर कम्पनीहरूको नाफामा पर्ने गरेको छ। गत वर्ष कम्पनीको नाफामा सङ्कुचन आउनुको प्रमुख कारणमध्ये यो पनि एक हो।
यसरी हेर्दा बीमा कम्पनीको गत वर्षको वित्तीय विवरणमा दोहोरो चाप देखिएको छ। बीमा कम्पनीहरूले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा बढी दाबी भुक्तानी गरेका छन्। गत आर्थिक वर्षमा निर्जीवन बीमकले ३० अर्ब ५८ करोड दाबी भुक्तानी भएको गरेका छन्। जबकि अघिल्लो आर्थिक वर्षमा कम्पनीहरूले २५ अर्ब २४ करोड मात्रै दाबी भुक्तानी गरेका थिए। बीमा कम्पनीहरूको दाबी भुक्तानी ५ करोड बढेको छ। जसको प्रत्यक्ष प्रभाव पनि कम्पनीहरूको नाफामा देखिएको हो।
यता, बीमा कम्पनीहरूको खुद बीमा शुल्क र कुल आम्दानीमा भने सुधार आएको छ। बीमा कम्पनीहरूको आम्दानीमा सुधार आउँदा पनि नाफामा भने गिरावट देखिएको हो। बीमा कम्पनीहरूको व्यवसाय बढेपछि नाफामा पनि सुधार आउनुपर्ने हो। तर, व्यवसाय बढ्दा पनि कम्पनीहरूको खर्च बढ्दा नाफामा सुधार आउन नसकेको हो।
यता, बीमा कम्पनीको खुद बीमा शुल्क आम्दानीमा गत आर्थिक वर्ष सामान्य भएपनि सुधार देखिएको छ। खुद बीमा शुल्क आर्जन बढेपनि कम्पनीहरूको नाफामा गिरावट आएको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरूले २ अर्ब ७२ करोड बढी नाफा आर्जन गरेका छन्। कम्पनीहरूले गत आर्थिक वर्षमा २ अर्ब ७२ करोड ९० लाख नाफा कमाएका हुन्।
जुन अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरूले ४ अर्ब ४३ करोड ६९ लाख नाफा आर्जन गरेका थिए। यस तथ्याङ्कलाई हेर्दा बीमा कम्पनीको नाफा एक वर्षको अवधिमा डेढ अर्ब बढी घटेको हो। बीमा विज्ञ डा. रविन्द्र घिमिरे बीमा कम्पनीहरूको खर्च बढ्दा नाफामा सङ्कुचन आएको बताउँछन्।
उनकाअनुसार बीमा कम्पनीहरूको दाबी भुक्तानी बढ्दा पनि नाफामा गिरावट आएको हो। गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरूले कर्मचारी सुविधा बापत गर्ने खर्च बढेको छ। निर्जीवन बीमा कम्पनीहरूले गत वर्षमा कुल ५ अर्ब ५५ करोड कर्मचारी सुविधामा खर्च गरेका छन्। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा बढी हो।
कुनको नाफा कति ?
गत आर्थिक वर्षमा एउटा कम्पनीको नाफामा मात्रै सुधार आएको छ। सबै कम्पनीको नाफा घटेको समयमा प्रभु इन्स्योरेन्स कम्पनीले नाफा बढाएको हो। सबै निर्जीवन बीमा कम्पनीको नाफा घटेको समयमा कम्पनीले नाफा बढाएर २४ करोड ६४ लाख खुद नाफा आर्जन गरेको छ। जबकि कम्पनीले अघिल्लो आर्थिक वर्षमा २० करोड ९८ लाख खुद नाफा कमाएको थियो। गत वर्षको तुलनामा कम्पनीको नाफा साढे ३ करोड बढी बढेको हो।
प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) संचित बज्राचार्य ‘क्लेमको रेसियो’ घट्दा नाफामा सुधार आएको बताउँछन्। उनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष कम्पनीले भुक्तानी गर्नुपर्ने दाबी रकममा कमी आएको कारण नाफा बढेको हो। दाबी भुक्तानीमा आएको कमीले कम्पनीको आम्दानीमा सकारात्मक प्रभाव परेको र त्यसको प्रत्यक्ष प्रभाव खुद नाफामा देखिएको हो।
यस अवधिमा नेशनल इन्स्योरेन्स कम्पनी घाटामा रहेको छ। गत वर्षमा कम्पनीले १३ करोड १० लाख घाटा व्यहोरेको छ। अघिल्लो वर्ष पनि कम्पनीले १५ करोड घाटा व्यहोरेको थियो। गत वर्ष सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा ओरिएन्टल इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले ४९ करोड ४ लाख नाफा आर्जन गरेको छ।
व्यवसाय विस्तार
गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरूले १९ अर्ब ६३ करोड ७६ लाख बढी खुद बीमा शुल्क आर्जन गरेका छन्। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरूले १८ अर्ब ५ करोड ४७ लाख खुद बीमा शुल्क आर्जन गरेका थिए। गत वर्षमा सबैभन्दा धेरै खुद बीमा शुल्क संकलन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले २ अर्ब ३४ करोड खुद बीमा शुल्क आर्जन गरेको छ।
गत वर्ष अधिकांश कम्पनीको व्यापार बढ्दा नेशनल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको आम्दानी भने घटेको छ। गत वर्षमा नेशनल इन्स्योरेन्सले ५६ करोड ९९ लाख खुद बीमा शुल्क आर्जन गरेको छ। जबकि अघिल्लो आर्थिक वर्षमा कम्पनीले ६५ करोड ४ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो। यस्तै, गत वर्ष राष्ट्रिय बीमा कम्पनीले २३ करोड १६ लाख खुद बीमा शुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको २४ करोड ७४ करोड नाफा आर्जन गरेको हो।
यता, सरकारले नै पनि सबै सरकारी सम्पत्तिको बीमा गर्ने भनेपछि सर्वसाधरणले पनि बीमालाई प्राथमिकतामा राख्ने गरेको बीमकहरु बताउँछन्। सरकारले नै बीमाको महत्त्व बुझाउँदा थप व्यक्ति बीमामा आबद्ध हुने क्रम बढेको उनीहरूको भनाई छ। जसले गर्दा पनि बीमा कम्पनीहरूको व्यवसायमा समेत विस्तार भएको उनीहरूको बुझाई छ।






About Us
प्रतिक्रिया