कुमारी क्यापिटलका तीन बन्दमुखी योजनाको लाभांश घोषणा


काठमाडौं – कुमारी क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालनमा रहेका तीन बन्दमुखी योजनाहरुका इकाईधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ। कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालनमा रहेका बन्दमुखी योजनाहरु कुमारी ईक्वीटी फण्ड, कुमारी धनवृद्धि योजना र कुमारी सबल योजना प्रतिफल घोषणा गरेका हुन्।

क्यापिटलले कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाका इकाईधनीहरुलाई करसहित १०/१० प्रतिशतका दरले र कुमारी सबल योजनाका इकाईधनीहरुलाई २.९० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

क्यापिटलको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले आर्थिक वर्ष २०८२/०८३ का लागि सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लाभांश वितरण प्रयोजनार्थ यी योजनाहरुले भदौ ४ गते बिहीबार एक दिनका लागि बुकक्लोज गर्ने भएका छन्। जस अनुसार भदौ ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो दरमा लाभांश प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।