नेपाल बैंकले लोवर ठुलोखोला जलविद्युत आयोजनामा लगानी गर्ने


काठमाडौं- नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच लोवर ठुलोखोला जलविद्युत आयोजना निर्माण तथा सञ्चालनका लागि कर्जा सम्झौता भएको छ। चितवन इनर्जी लिमिटेडद्वारा प्रवर्द्धित ४.७५ मेगावाट (प्रस्तावित ६.५१ मेगावाट) क्षमताको सो आयोजनामा कुल परियोजना लागतको कर्जा र स्वपूँजी अनुपात ७०:३० कायम रहने गरी कर्जा तथा सुविधाहरू प्रदान गर्ने सम्झौता भएको हो।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र चितवन इनर्जी लिमिटेडका तर्फबाट सञ्चालक गोपाल प्रसाद निउरेले हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले वित्तीय व्यवस्थापनका लागि अवसर प्रदान गरेकोमा चितवन इनर्जीलाई धन्यवाद ज्ञापन गर्दै आयोजनाको सफलतापूर्वक निर्माण तथा सञ्चालनको शुभकामना व्यक्त गरे।

त्यस्तै, चितवन इनर्जीका सञ्चालक गोपाल प्रसाद निउरेले नेपाल बैंकसँगको सहकार्यका लागि आभार प्रकट गर्दै आयोजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।