कृषि विकास बैंकको नाफामा गिरावट, प्रतिशेयर आम्दानी पनि घट्यो


काठमाडौं – कृषि विकास बैंकको नाफामा गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार २ अर्ब ६३ करोड ६ लाख आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ३ अर्ब ७३ करोड २४ लाख खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी घटेको छ । बैंकले गत आर्थिक वर्षमा ९ अर्ब १२ करोड १५ लाख खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष बैंकले ९ अर्ब ४४ करोड ७४ लाख खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ७१ करोड, कुल सञ्चालन आम्दानी ११ अर्ब २१ करोड र सञ्चालन नाफा ३ अर्ब ९४ करोड रहेको छ ।

गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब २६ करोड रहेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा २ अर्ब ८१ करोड ६६ लाख रहेको थियो । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ३० करोड रहेको छ भने बैंकको जगेडा कोषमा १७ अर्ब ९० करोड रहेको छ ।

बैंकको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष २४.५९ रहेको प्रतिशेयर आम्दानी गत वर्ष घटेर १६.११ रुपैयाँमा सीमित भएको छ ।