ग्लोबल आइएमई बैंकको नाफा ६ अर्बमाथि, कस्ता छन् अन्य सूचक ?


काठमाडौं – ग्लोबल आइएमई बैंकको नाफामा सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणले बैंकको नाफामा सुधार आएको देखाएको हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब ७ करोड ६३ लाख नाफा आर्जन गरेको बैंकले गत वर्ष ६ अर्ब २२ करोड ७१ लाख नाफा कमाएको हो ।

बैंकको खुद ब्याज आम्दानीमा पनि सुधार आएको छ । बैंकले गत वर्ष १६ अर्ब २० करोड ३० लाख खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष बैंकले १६ अर्ब ६७ करोड ९९ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

गत वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ३ अर्ब ६४ करोड ५ लाख, कुल सञ्चालन आम्दानी २१ अर्ब ८० करोड ३९ लाख र सञ्चालन मुनाफा ८ अर्ब ६८ करोड २१ लाख रहेको छ । बैंकको गत वर्षको अवधिमा वितरणयोग्य नाफा ४ अर्ब ५८ करोड १० लाख रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा बढी हो । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ४ अर्ब ५ करोड २८ लाख रहेको थियो ।

हाल बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख रहेको छ भने बैंकको रिजर्भ कोषमा २७ अर्ब १० करोड ९३ लाख सञ्चित छ । बैंकको प्रतिशेयर आम्दानी १३।३२ रुपैयाँबाट बढेर १६।३४ रुपैयाँ पुगेको छ । यस्तै, बैंकको खराब कर्जा ४.८६ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ ।