वाणिज्य बैंकका सीईओहरूसँग अर्थमन्त्रीले भने, ‘कर्जाको माग बढ्न नसक्नु चिन्ताको विषय हो’


काठमाडौं – अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुसँग छलफल गरेका छन्। छलफलमा अर्थमन्त्री डा. वाग्लेले वाणिज्य बैंकका सीईओहरूसँग अर्थतन्त्रलाई पुनः गतिशील बनाउने उपायबारे स्पष्ट र कार्यान्वयनयोग्य सुझाव माग गरेका छन्।

बैंकिङ्ग क्षेत्रलाई आर्थिक रूपान्तरणको नेतृत्वदायी साझेदारका रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले खुला संवादमार्फत समाधान खोज्न आग्रह गरेका हुन्। अर्थमन्त्री वाग्लेले बजेटमार्फत आर्थिक रूपान्तरणको स्पष्ट दिशा तय गरिएको उल्लेख गर्दै अबको मुख्य प्राथमिकता प्रभावकारी कार्यान्वयनमा रहेको बताए।

अर्थतन्त्रको वास्तविक अवस्था र बजारको मनोविज्ञानलाई बैंकिङ्ग क्षेत्रले नजिकबाट महसुस गर्ने भएकाले बजेट कार्यान्वयन र विद्यमान समस्या समाधानका लागि बैंकरहरूको अनुभव र सुझाव महत्त्वपूर्ण हुने उनको भनाइ छ। 

छलफलका क्रममा अर्थमन्त्रीले वर्तमान आर्थिक परिदृश्यका केही विरोधाभासपूर्ण अवस्थाप्रति चासो व्यक्त गरे। यस्ता संरचनागत समस्या समाधानका लागि मौद्रिक नीति, नियमन र सुपरिवेक्षणमा नयाँ दृष्टिकोण आवश्यक रहेको उनले औँल्याए। अर्थमन्त्रीले भने, ‘कर्जाको ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा र बैंकिङ्ग प्रणालीमा अधिक तरलता रहँदा पनि कर्जाको माग बढ्न नसक्नु र लगानी विस्तारमा व्यवसायीहरू हिचकिचाउनु चिन्ताको विषय हो।’