काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको नयाँ सरकार गठन भएको तीन महिनामा शेयर लगानीकर्ताले झन्डै ४ खर्ब रुपैयाँ बराबरको सम्पत्ति गुमाएका छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांक अनुसार गत चैत १२ गते नेप्से २९ सय ५० अंकको उच्च विन्दुमा पुग्दा बजार पुँजीकरण ५० खर्ब रुपैयाँ नाघेको थियो। तर, हाल बजार पुँजीकरण ४६ खर्ब १७ अर्ब रुपैयाँमा झरेको छ। यस अवधिमा लगानीकर्ताको कुल सम्पत्ति ४ खर्ब रुपैयाँभन्दा बढीले गुमेको छ।
बजेटअघि लगानीकर्ता सकारात्मक देखिए पनि बजेट आएपछि उनीहरू निराश देखिन्छन्। गत जेठ १५ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष ०८३/८४ को बजेटमार्फत नेप्सेको पुनर्संरचना, इन्ट्राडे ट्रेडिङ र सर्ट सेलिङ लगायतका आधुनिक औजार ल्याउने घोषणा गरेपछि लगानीकर्ताले बजार सकारात्मक हुने अपेक्षा गरेका थिए। तर, शेयर बजार त्यसको विपरीत घुमेर त्यसयता झन्डै ३ प्रतिशतले घटेको नेप्सेको तथ्याङ्कले देखाउँछ। बजेट भाषण हुनुभन्दा अगाडि गत जेठ १३ गतेसम्म ४७ खर्ब ४६ अर्ब रुपैयाँ बजार पुँजीकरण रहेकोमा असार ५ गतेसम्म आइपुग्दा यो १ खर्बभन्दा बढीले घटेर ४६ खर्ब १७ अर्ब रुपैयाँको हाराहारीमा खुम्चिएको छ। शक्तिशाली सरकार र शेयर बजारका लागि बजेट सकारात्मक भएको भनिए पनि त्यसको प्रभाव नदेखिँदा लगानीकर्ताहरू आक्रोशित बनेका छन्।
प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुम्बु ओलीले बजेटको छलफलमा शेयर बजार किन लगातार घटिरहेको छ भनी सोधेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शेयर बजारको गिरावट बजेटका कारण नभई विगतका वित्तीय अनियमिततामाथिको अनुसन्धान र कानुनी कारबाहीका कारण सिर्जना भएको मनोवैज्ञानिक त्रास भएको बताएका थिए। उनका अनुसार यो छानबिन पुँजी बजार र बीमा क्षेत्रका ठुला अनियमितता केन्द्रित भएकाले ‘म पनि परिन्छु कि’ भन्ने मनोवैज्ञानिक डरले गर्दा केही लगानीकर्ताहरू ‘पर्ख र हेर’ को अवस्थामा पुगेका हुन्। उनले सरकारले शेयर बजारको हरेक घण्टा वा दैनिक हुने अल्पकालीन उतारचढावलाई हेरेर नीति नबनाउने जवाफ समेत दिएका थिए। यसले लगानीकर्ता थप सशङ्कित देखिएको जानकारहरू बताउँछन्।
किन घट्दै छ बजार ?
शक्तिशाली, स्थिर र नयाँ सोच बोकेको सरकार गठन हुँदा उत्साहित बनेका लगानीकर्ताहरूमा हाल त्रास र अन्यौलताको वातावरण सिर्जना भएको जानकारहरूको विश्लेषण छ। नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरीका अनुसार अहिले बजार घट्नुको प्रमुख कारण शेयर लगानीकर्ताहरूमा ‘कन्फिडेन्स’ (आत्मविश्वास) को कमी हुनु हो। नयाँ सरकार आइसकेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थुप्रै व्यवसायीमाथि छानबिनलगायत पक्राउ समेत गरेका कारणले अहिले लगानीकर्ताहरू ‘पर्ख र हेर’ को अवस्थामा रहेको उनले बताए।

शेयर बजार लगानीकर्ता संघका अध्यक्ष घनश्याम पाण्डेले समेत बजार बढ्न नसक्नुको कारण लगानीकर्तामा आत्मविश्वासको कमी हुनु नै रहेको बताए। सरकारले तत्काल गर्नुपर्ने कामलाई जिम्मेवार भएर नगरेको र लगानीकर्तालाई तर्साउने खालका धरपकडका गतिविधिले गर्दा अहिले खुलेर लगानी गर्न नसक्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । पाण्डेले भने, ‘लगानीकर्ता अहिले धेरै नै डराएको अवस्था छ। लगानीकर्ताकै मनोबल बढेन भने भोलिका दिनमा बजार माथि उठे पनि मानिसहरूले शेयर किन्न छाड्छन्। बजार अहिले अन्तिम बिन्दुमा आएको छ, यस विषयमा सरकार गम्भीर हुन जरुरी छ । सम्पत्ति शुद्धीकरण गर्नुपर्छ, छानबिन गर्नुपर्छ तर लगानीको वातावरण भने मार्नु भएन।’

शेयर लगानीकर्ता छोटेलाल रौनियारले भने बजेटमार्फत सरकारले पुँजीगत लाभकर वृद्धि गरेपछि लगानीकर्ताहरू हच्किएको बताए। पहिले पनि पुँजी बजारमा मनोविज्ञान बलियो थिएन, जसले गर्दा लगानीकर्तामा आत्मविश्वास बढ्न सकेन र फलस्वरूप बजारसँगै कारोबार समेत घटेको छ। धेरै लगानीकर्ताहरू धरपकडका कारण भविष्यमा बजार के होला भन्ने डरले लगानी गर्न डराइरहेको उनले उल्लेख गरे।

‘हामीलाई त पुँजीगत लाभकर कम गर्छन् र बजारमा आपूर्ति बढिरहेको अवस्थालाई सम्बोधन गर्ने गरी माग बढाउने काम गर्लान् भन्ने सरकारमाथि विश्वास थियो। यदि सरकारले पुँजीगत लाभकर घटाइदिएको भए शेयर बजारमा दैनिक जसो १५/२० अर्बको कारोबार हुन्थ्यो,’ रौनियारले भने। सरकारको पुँजीगत लाभकर वृद्धि गर्ने निर्णय शेयर बजारका लागि घातक भएको उनको भनाइ छ। उनले भने,‘यो सरकार एक हातले दिने र अर्को हातले खोस्ने जस्तो देखियो। पुँजी बजारलाई माया नगरेसम्म पुरातन वादी तरिकाले चलाऊ या अर्थदत्त तरिकाले चलाऊ, बजार चल्दैन।’






About Us
प्रतिक्रिया