काठमाडौं – फिफा विश्वकप २०२६ मा विश्वका उत्कृष्ट टोलीहरूबीचको प्रतिस्पर्धा हेर्न लाखौँ दर्शक उत्साहित छन्। तर, यही उत्साहको मौका छोप्दै साइबर अपराधीहरूले सक्रियता बढाएका छन्। आफ्नो मन पर्ने खेलाडी वा देशको प्रतिस्पर्धा हेर्ने मिल्ने विभिन्न निःशुल्क माध्यम भन्दै स्क्यामरहरूले सर्वसाधारणहरूलाई ठगी गरिरहेको नेपाल प्रहरीले जनाएको छ।
विश्वकपको लाइभ प्रसारण हेर्न मिल्ने भन्दै सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल माध्यममार्फत फैलाइएका फिसिङ लिंकबाट हालसम्म २ करोड २९ लाख रुपैयाँ ठगी भएको साइबर ब्युरोका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए। यस प्रकारको साइबर ठगीमा परेका पीडितहरूबाट हालसम्म साइबर ब्युरोमा ११५ वटा उजुरी दर्ता उनले बताए।
ब्युरोमा गत जेठ ५ गतेबाट विश्वकप २०२६ को लाइभ हेर्न मिल्ने लगायतका विभिन्न ठगीका जालोमा परेकाहरूको उजुरी आउन थालेको गिरीको भनाइ छ। उनकाअनुसार विश्वकपको लाइभ हेर्न मिल्ने भन्दै विभिन्न प्रकारका फिसिङ लिंक तथा मोबाइल बैंकिङ्ग ह्याक गरी ठगी भएको घटनाको उजुरी ब्युरोमा आइरहेका छन्। साथै, प्रहरीकाअनुसार विश्वकपका बेलामा अनलाइन बेटिङ र सट्टेबाजी गर्नेहरू पनि बढी रहेका छन्।
विश्वकपका बेला साइबर अपराधीहरू सक्रिय हुने विश्वव्यापी प्रवृत्ति हो। मानिसहरू तत्काल जानकारी र प्रत्यक्ष प्रसारण खोजिरहेका बेला अपराधीहरूले त्यही अवस्थालाई अवसरका रूपमा लिने गर्छन्। खेल प्रेमीहरूको उत्साह र हतारको फाइदा उठाउँदै उनीहरूले नक्कली वेबसाइट, फर्जी एप्लिकेसन तथा फिसिङ अभियान सञ्चालन गरेर ठगी गर्ने गरेका छन्।
कमजोर आर्थिक अवस्था भएका केही सर्वसाधारणहरू सजिलै कमाइने भन्दै राखिएका ठगहरूको पोस्टबाट आकर्षित भई ठगीको जालोमा पर्छन्। विशेष गरी निःशुल्क प्रसारण, सस्तो सदस्यता तथा विशेष अफरको नाममा प्रयोगकर्तालाई झुक्क्याउने प्रयास हुने प्रहरी बताउँछन्। जसमा विश्वकप निःशुल्क हेर्नका लागि यो लिंक क्लिक गर्नुहोस् भन्दै एपिके इएसइ, बिएटि एसएच जस्ता लिंक क्लिक गर्नु भनेर आउने गरेको प्रवक्ता गिरीले बताए।

उनले भने, ‘यस्ता लिंकहरूमा क्लिक गर्दा नै सर्वसाधारणको अकाउन्ट खाली गरिदिएको घटनाहरू आइरहेका छन्।’ एक क्लिकले गर्दा नै आफ्नो बैंक खाता नै खाली हुने भएकाले गर्दा सामाजिक सञ्जालमा देखिएका लिंकहरूमा लिंक नगर्न उनले आग्रह गरे। फिफा विश्वकप २०२६ जुन ११ देखि जुलाई १९ सम्म उत्तर अमेरिकी राष्ट्रहरू संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा सञ्चालन भइरहेको छ। प्रतियोगिता सुरु भएसँगै विश्वकपको लाइभ प्रसारण देखाउने बहानामा साइबर ठगीका घटना पनि बढेका हुन्।
यस्ता घटनाको जोखिमलाई ध्यानमा राख्दै नेपाल प्रहरीले विश्वकप सुरु हुनुअघि नै भिडियो सन्देशमार्फत जनचेतना फैलाएको थियो। साथै, प्रहरीका विभिन्न निकायहरूले सचेतनामूलक भिडियो सामग्री तथा प्रेस विज्ञप्ति जारी गर्दै आएका छन्। विश्वकप हेर्ने मिल्ने भन्दै नक्कली एन्ड्रोइड एपीके फाइल इन्स्टल गराउन खोज्नेहरूले मोबाइल बैंकिङ्ग, इमेल तथा अन्य व्यक्तिगत विवरण साइबर अपराधीको पहुँचमा पुग्न सक्ने जोखिम रहेको प्रहरीले जनाएको छ।
प्रहरीले एपीके, इएक्सई, बीएटी तथा एसएच जस्ता अपरिचित फाइलहरू डाउनलोड नगर्न, अनधिकृत वेबसाइटबाट एप डाउनलोड नगर्न तथा केवल आधिकारिक एप स्टोरहरूबाट मात्र एप प्रयोग गर्न प्रेस विज्ञप्ति नै जारी गरेको छ। साथै, प्रविधि जति सहज बन्दै गएको छ, ठगीका तरिका पनि त्यति नै परिष्कृत बन्दै गएका छन्।
अहिलेका धेरै फिसिङ वेबसाइट वास्तविक वेबसाइटजस्तै देखिने भएकाले सामान्य प्रयोगकर्ताले सजिलै छुट्टाउन नसकिने किसिमको हुने सरोकारवाला बताउँछन्। त्यसैले गर्दा बैंकिङ्ग सेवा वा अन्य डिजिटल सेवासम्बन्धी अपडेटका लागि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा एप मात्र प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।
निःशुल्क सेवाको लोभमा पर्दा आर्थिक क्षति व्यहोर्नु पर्ने अवस्था आउन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। प्रहरीले एक भिडियो सन्देश जारी गर्दै विश्वकपका बेलामा अनलाइन बेटिङ र सट्टेबाजी, थेरै पैसामा लगाएर धेरै पैसा कमाउन सकिने र घर बसेरै पैसा कमाउन सकिने भन्ने जस्ता आकर्षक विज्ञापन सर्वसाधारणको मोबाइलमा समेत आउने बताएको छ।
सजिलै पैसा कमाउन बेटिङको प्रलोभनमा पर्दा सजिलै ठगहरूको सिकार बनिने बताइएको छ। सुरुमा केही रकम जितेको जस्तै देखाएर पछि थप रकम हाल्न प्रेरित गरिन्छ। यदि यस्तो लोभमा परेको अवस्थामा पैसा कमाउने भन्दा पनि गुमाउने निश्चित हुने प्रहरीले बताएको छ।
साथै, मुलुकी अपराध संहिता २०७४ दफा १२५ मा जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने स्पष्ट कानुनी व्यवस्था छ। त्यसैले पनि यस्ता अनलाइन बेटिङमा सहभागी हुनु वा सञ्चालन गर्नु कानुनी रूपमा दण्डनीय छ। यसैगरी, गण्डकी प्रदेश प्रहरीले पनि विश्वकपको बहानामा आउने नक्कली एप डाउनलोड नगर्न आग्रह गरेको छ। यस्ता एपहरूले मोबाइल बैंकिङ्ग, फेसबुक र व्यक्तिगत विवरण ह्याक गर्न सक्छन्। एप डाउनलोड गर्दा आधिकारिक माध्यमहरूको मात्रै प्रयोग गर्न अनुरोध गरेको छ।
साथै, साइबर ब्युरोले पनि पछिल्लो समय सामाजिक सञ्जालका तथा अनलाइनका विभिन्न माध्यमहरूमा विश्वकप २०२६ हेर्न सकिने भन्दै भन्दै एन्ड्रोइड इन्स्टलर एडिएस फाइल डाउनलोड तथा इन्स्टल गर्न लगाई साइबर ठगी गर्ने गतिविधि बढ्दै गएको बताएको छ। यस्ता एप्लिकेसनहरूले विभिन्न प्रकारका अनुमति माग्ने र प्रयोगकर्तालाई ती अनुमति स्वीकृत गर्न प्रेरित गर्ने गरेको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ।
ब्यूरोकाअनुसार यस्ता एप्लिकेसनमार्फत मोबाइल बैंकिङ्ग सम्बन्धी संवेदनशील जानकारी चोरी गरी बैंकिङ्ग एप ह्याक गर्ने तथा आर्थिक ठगी गर्ने घटनामा वृद्धि भइरहेको छ। ब्युरोले सर्वसाधारण प्रयोगकर्तालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। प्रयोगकर्ताहरूलाई अनावश्यक तथा अविश्वसनीय स्रोतबाट प्राप्त एप्लिकेसनहरू डाउनलोड नगर्न ब्युरो आग्रह गरेको छ।






About Us
प्रतिक्रिया