काठमाडौं – पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तेञ्जिङ नोर्गे शेर्पाको स्मृतिमा आयोजित तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिताको उपाधि रोनक उप्रेती र स्वस्तिका चौधरीले प्राप्त गरेका छन्। त्रिहत्तरौँ अन्तरराष्ट्रिय सगरमाथा दिवसका अवसरमा नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सङ्घ र युएस नेपाल क्लाइम्बर्स एसोसिएसनले आयोजना गरेको पुरुष तथा महिला खुला आरोहण प्रतियोगितामा पुरुषतर्फ उप्रेती र महिलातर्फ चौधरी प्रथम भएकी छिन्।
प्रथम भएसँगै उहाँहरूलाई रु ५० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। पुरुषतर्फ दोस्रो हुनेमा विदेशी नागरिक मिर्को लेरोस र तेस्रो हुनेमा तेन्जिङ बर्टिन राई छन्। दोस्रो हुनेलाई ३० हजार नगद रूपैयाँ, मेडल र प्रमाणपत्र, तेस्रो हुनेलाई २० हजार नगद रूपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।
त्यस्तै, महिलातर्फ दोस्रो हुनेमा याङकिला शेर्पा र तेस्रोमा पञ्चामाया तामाङ हुनुहुन्छ। दोस्रो हुनेलाई ३० हजार रूपैयाँ नगद, मेडल र प्रमाणपत्र, तेस्रो हुनेलाई २० हजार रूपैयाँ नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। उक्त प्रतियोगितामा विजयी खेलाडीलाई प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पाले पुरस्कार प्रदान गरे।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य शेर्पाले आरोहणको काम चुनौतीपूर्ण रहेको भन्दै उत्कृष्ट प्रदर्शन गरेकामा खेलाडीलाई बधाई ज्ञापन गरे। प्रतियोगिताको फाइनल चरणमा छ पुरुष र छ महिला खेलाडी पुगेका थिए। नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सङ्घका अध्यक्ष तुलसिंह गुरुङले प्रतियोगिताको उद्देश्य नेपालमा साहसिक आरोहण खेलको प्रवर्द्धन गर्नुका साथै विश्वप्रसिद्ध आरोही तेन्जिङनोर्गे शेर्पा र सर एड्मण्ड हिलारीको योगदानलाई सम्मान गर्नु रहेको बताए। कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष फुरगेल्जे शेर्पालगायतको सहभागिता थियो।






About Us
प्रतिक्रिया