एक महिनाको अवधिमा हातहतियार सम्बन्धी मुद्दामा संलग्न ४० जना पक्राउ


काठमाडौं – नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट हातहतियार सम्बन्धी मुद्दामा संलग्न ४० जनालाई पक्राउ गरेको छ। जसमध्ये उपत्यकाबाट ३ जना, कोसी प्रदेशबाट १ जना, मधेस प्रदेशबाट १ जना, बागमती प्रदेशबाट १ जना, गण्डकी प्रदेशबाट १४ जना, लुम्बिनी प्रदेशबाट ९ जना, कर्णाली प्रदेशबाट ८ जना र सुदूरपश्चिम प्रदेशबाट ३ जना पक्राउ परेका हुन्।    

पक्राउ परेका व्यक्तिहरूबाट चाइनिज पेस्तोल १ थान, पेस्तोल १ थान, रिभल्वर १ थान, कटुवा पेस्तोल २ थान, भरुवा बन्दुक २१ थान,  बन्दुक १ थान र एयर गन २ थान गरी जम्मा २९ थान हातहतियार बरामद भएको छ। साथै, उनीहरूबाट चाइनिज पेस्तोलको गोली १ राउन्ड, एसएलआरको गोली २ सय ६३ राउन्ड, विभिन्न बन्दुकमा लाग्ने गोली ७० राउन्ड समेत बरामद भएको छ।

अपराधमुक्त समाज निर्माण र अपराध नियन्त्रणका लागि अवैध हातहतियार कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन नेपाल प्रहरीले सदैव क्रियाशील छ। तस्करी, हत्या, अपहरण, डकैती, लुटपाट, जबरजस्ती चन्दा असुली तथा दुर्लभ वन्यजन्तुको सिकारमा हातहतियार प्रयोग भएको देखिन्छ। अवैध हातहतियार नियन्त्रण तथा कारोबारीलाई निस्तेज गर्न नेपाल प्रहरीले सूचना सङ्कलनलाई विशेष प्राथमिकतामा राखी देशभर नै  विशेष अभियान सञ्चालन गरी कार्य गरिरहेको छ।

अवैध हतियार कतै लुकाइराखेको थाहा भएमा नेपाल प्रहरीलाई सूचना दिन र अवैध हतियार बुझाउन समेत नेपाल प्रहरी अनुरोध गर्दछ।