काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दै जाँदा नेपालमा सुन तस्करीको जालो पनि झन् फैलिँदै गएको तथ्यांकले देखाएको छ। पछिल्लो एक दशकमा नेपाल प्रहरीद्वारा ५ सय ८३ किलो ७४२ ग्राम अवैध सुन बरामद गरिएको छ। प्रहरीको तथ्यांकअनुसार उक्त सुनबाट मात्रै ५ अर्ब ६९ करोड ४९ लाख ४४ हजार १७१ रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
सुन तस्करीमा संलग्न रहेको आरोपमा यो अवधिमा ७ सय ५१ जना पक्राउ परिसकेका छन्। प्रहरीका अनुसार तस्करहरूले स्थलमार्ग, हवाईमार्ग तथा सीमावर्ती नाकाहरू प्रयोग गरेर नेपालभित्र सुन भित्र्याउँदै आएका छन्। विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भारत र चीनसँग जोडिएका विभिन्न नाकाबाट सुन तस्करी हुने गरेको प्रहरीको निष्कर्ष छ। चालु आर्थिक वर्ष ०८२/८३ को हालसम्म मात्रै २ किलो ९८ ग्राम सुन बरामद भइसकेको प्रहरीले जनाएको छ। तस्करी नियन्त्रणका लागि राज्यका संयन्त्र सक्रिय भए पनि सुनको अवैध कारोबार अझै सङ्गठित रूपमा चलिरहेको देखिन्छ।
पछिल्ला वर्षमा भएका ठुला बरामदले तस्करीको स्वरूप झन् भयावह देखिएको छ। गत वर्ष जेठमा प्रहरीले रसुवाबाट काठमाडौं ल्याइँदै गरेको ७ किलो ६५३ ग्राम सुन बरामद गरेको थियो। गोसाईंकुण्ड गाउँपालिका–२ बाट उक्त सुन बरामद गरिएको थियो।
त्यसैगरी, गत वर्ष असोजमा सशस्त्र प्रहरी बल नेपाल र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयको टोलीले भन्सार छली गरेर गोदाममा राखिएको आशंकामा २ किलो २५४ ग्राम सुन बरामद गरेको थियो। सुन तथा चाँदी अवैध रूपमा भित्र्याइएको सूचनाका आधारमा गरिएको छापामा उक्त परिमाणको सुन फेला परेको थियो।
प्रहरीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुन तस्करहरूको प्रमुख ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ। गत वर्ष मात्रै विमानस्थलबाट पाँच पटक सुन बरामद गरिएको थियो। २०८२ जेठमा अन्तर्राष्ट्रिय आगमन टर्मिनल गेटबाट भन्सार छली गरेर ल्याइएको २५ ग्राम सुनजस्तो देखिने धातुसहित एक व्यक्ति पक्राउ परेका थिए।
त्यसपछि २०८२ भदौमा प्रहरीले विमानस्थलको अन्तर्राष्ट्रिय आगमन क्षेत्रबाट ६ सय ३५ ग्राम सुनसहित भारतीय नागरिक भरत कुमार विनोद चन्द्र भट्टलाई पक्राउ गरेको थियो। त्यस्तै, २०८२ असोजमा ८ सय ३५ ग्राम सुनसहित अर्का भारतीय नागरिक ४८ वर्षीय रोनक दमानी पक्राउ परेका थिए। २०८२ माघमा पनि विमानस्थलबाट अवैध रूपमा ल्याइएको करिब १ सय ग्राम सुनसहित भारतीय नागरिक ४९ वर्षीय अबु बरकत कुदराते खोदा काजी पक्राउ परेका थिए। सोही महिनामा ४० ग्राम सुनसहित फिनल्याण्डका नागरिक इम्तियाज अहमद पनि पक्राउ परेका थिए।
पछिल्ला वर्षमा भएका ठुला बरामदले तस्करीको स्वरूप झन् भयावह देखिएको छ। गत वर्ष जेठमा प्रहरीले रसुवाबाट काठमाडौं ल्याइँदै गरेको ७ किलो ६५३ ग्राम सुन बरामद गरेको थियो। गोसाईंकुण्ड गाउँपालिका–२ बाट उक्त सुन बरामद गरिएको थियो।
सुरक्षा निकायका अधिकारीहरूका अनुसार सुन तस्करीमा सङ्गठित गिरोह सक्रिय छन्। पछिल्लो समय सुन शरीरभित्र लुकाएर, इलेक्ट्रोनिक सामग्रीभित्र राखेर वा अन्य वस्तुसँग मिसाएर ल्याउने प्रवृत्ति बढेको छ। विमानस्थल र सीमावर्ती नाकामा कडाइ गरिए पनि तस्करहरूले नयाँ नयाँ तरिका अपनाउँदै आएको प्रहरीको भनाइ छ। सुनको मूल्य उच्च बिन्दुमा पुग्दै जाँदा तस्करीको जोखिम पनि बढेको छ। अवैध सुन कारोबारले राज्यको राजस्वमा ठुलो क्षति पु¥याउनुका साथै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता गतिविधिलाई समेत बढावा दिइरहेको छ।
नेपालमा सुन तस्करीका ठुला प्रकरण, अझै सक्रिय सङ्गठित गिरोह
नेपालमा पछिल्लो दशकमा भएका सुन तस्करीका घटनामध्ये ०८० साउनमा भएको ६० किलोभन्दा बढी सुन बरामद प्रकरणलाई सबैभन्दा चर्चित र सङ्गठित तस्करीमध्ये एक मानिन्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हङकङबाट तस्करी गरी ल्याइएको ६० किलो ७१६ ग्राम सुन २०८० साउन ३ गते राजस्व अनुसन्धान विभाग ले बरामद गरेको थियो।
उक्त प्रकरणमा १८ जना संलग्न रहेको अनुसन्धानबाट खुलेको थियो। तीमध्ये केही अभियुक्त पछिल्लो जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार रहेको बताइएको छ। यसअघि २०७४ सालमा काठमाडौंको क्षेत्र पाटीबाट प्रहरीले ८८ किलो सुन बरामद गरेको थियो। केरुङ नाकाबाट काठमाडौं ल्याइएको उक्त सुन त्यतिबेला नेपालमा एकै पटक बरामद भएको सबैभन्दा ठुलो परिमाणमध्येमा पर्थ्यो।
त्यस्तै, २०७३ पुसमा प्रहरीले दुबईबाट ल्याइएको साढे ३३ किलो सुन विमानस्थलबाट बरामद गरेको थियो। पछिल्ला वर्षहरूमा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुन तस्करीको प्रमुख ‘रुट’ बन्दै आएको देखिन्छ।

प्रहरी तथ्यांकअनुसार हालसम्म सबैभन्दा धेरै सुन आर्थिक वर्ष ०७४/७५ मा बरामद भएको थियो। त्यस वर्ष मात्रै २ सय १४ किलो १९४ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ। सुरक्षा निकायका अनुसार अन्तर्राष्ट्रिय गिरोहहरूले विभिन्न देशबाट नेपालमा सुन भित्र्याउन विमानस्थल, खुला सीमा क्षेत्र तथा व्यापारिक मार्ग प्रयोग गर्ने गरेका छन्।
सुन तस्करीसँगै पछिल्लो समय सुन चोरीका घटना पनि बढिरहेका छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रविण धितालका अनुसार बैंकहरूले लकर सुविधा उपलब्ध गराए पनि धेरै मानिसले बहुमूल्य गहना घरमै राख्ने प्रवृत्तिका कारण चोरीको जोखिम बढेको छ। उनका अनुसार सीसीटिभी, डिजिटल लक तथा अलार्म प्रणालीजस्ता सुरक्षा उपायको पर्याप्त प्रयोग नहुँदा पनि चोरीका घटना बढिरहेका छन्।

सुरक्षा निकायले पछिल्लो समय सीमा क्षेत्र र विमानस्थलमा निगरानी कडा बनाएपछि सुन बरामदका घटना केही घटेको दाबी गरेका छन्। नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले प्रहरीको सक्रिय निगरानी, कडा कारबाही र प्रभावकारी परिचालनका कारण तस्करी नियन्त्रणमा केही सफलता मिलेको बताए। ‘सुन तस्करीमा संलग्न व्यक्तिमाथिको निगरानी र कारबाही प्रभावकारी भएकाले पछिल्लो समय यस्ता गतिविधिमा कमी आएको छ,’ उनले भने।

यद्यपि, सरोकारवालाहरूले कानुनी कडाइ, आधुनिक प्रविधिको प्रयोग र अन्तर निकाय समन्वयबिना यस्तो सङ्गठित अपराध नियन्त्रण गर्न कठिन हुने बताएका छन्। उनीहरूका अनुसार सुन तस्करीले राज्यको राजस्वमा प्रत्यक्ष असर पार्नुका साथै सम्पत्ति शुद्धीकरण र अन्तर्राष्ट्रिय अपराध सञ्जाललाई समेत बढवा दिने भएकाले सरकार, सुरक्षा निकाय र नियामक संस्थाबीच थप प्रभावकारी सहकार्य आवश्यक छ।






About Us
प्रतिक्रिया