बागलुङ- नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ। पन्ध्र दिन लगाएर तीन समूहले तीन हजार २०० मिटरदेखि पाँच हजार ५०० मिटरको उचाइमा पुगेर ५६ सेन्सरसहितको क्यामेरा जडान गरिएको छ।
नाउर र झारलको वैधानिक सिकार हुने ढोरपाटन सिकार आरक्षको उच्च हिमाली भेगमा हिउँचितुवा पाइने भए पनि अहिलेसम्म गणना हुनसकेको थिएन। हिउँचितुवाको यकिन सङ्ख्या पत्ता लगाउन प्राविधिक, सिकार आरक्षको टोली र गणकहरू क्यामेरा जडान गरेर फर्र्किएका छन्।
आरक्षका रेन्जर सागर सुवेदीका अनुसार ५६ क्यामेरा तीन समूहले छवटा सिकार ब्लकमा राखेर फर्केको बताउनुभयो। क्यामेराले ४५ दिनसम्म आफै फोटो संकलन गर्नेछ। क्यामेराको ब्याट्री र मेमोरी कार्ड भने १५ दिनमा परिवर्तन गर्न प्राविधिक समूह पुनः क्यामेरा राखेको स्थानमा पुग्नेछ। ओडारमा बास बसेर, कष्टकर हिउँ छिचोलेर प्राविधिक टोली क्यामेरा जडान गरेर फर्किएको सुवेदीको भनाइ छ।
‘हिउँचितुवाको गणनाका लागि ५६ स्थानमा क्यामेरा राखिएको छ, क्यामेराले ४५ दिनसम्म कैद गरेका फोटोका आधारमा चितुवाको सङ्ख्या पत्ता लगाइन्छ, अहिले १५–१५ दिनमा क्यामेराको मेमोरी र ब्याट्री फेर्न प्राविधिक टोली सोही स्थानमा पुग्छ,’ सुवेदीले भने, ‘सम्भावित चितुवाको बासस्थान, ओडार, जंगललगायत उच्च हिमाली भेगको बनोट हेरेर क्यामेरा जडान गरिएको छ।’
हिउँचितुवा गणनामा १५ जना कर्मचारी तथा प्राविधिक खटिएका थिए। ढोरपाटन सिकार आरक्षको तीन हजारदेखि पाँच हजार ५०० मिटरभन्दा माथिसम्म हिउँचितुवाको बासस्थान रहेको पाइएको छ। एक हजार ३२५ वर्ग किमी क्षेत्रमा फेलिएको आरक्षको मुख्यालय बागलुङमा रहे पनि म्याग्दी र रुकुमसम्म फैलिएको छ। वैशाखको ११ गतेदेखि राख्न थालिएको क्यामेरा ४५ दिनपछि संंकलन गरेर कार्यालयमा ल्याएर गणना गरिनेछ।
आरक्षका विभिन्न सिकार ब्लकमध्ये सेङ, सुनदह, दोगाडी, घुस्तुङ, बार्से र फागुने ब्लकमा हिउँचितुवा गणना गर्न क्यामेरा जडान गरिएको हो। रेन्जर सुवेदीका अनुसार हिउँचितुवा हिँड्ने सम्भावित बाटो, चट्टान, घारी र पास क्षेत्रमा स्वचालित क्यामेरा राखेर फोटो कैद गरी फोटोका आधारमा शरीरको धब्बा मिलाएर छुट्टाछुट्टै चितुवाको पहिचान गरिनेछ। यस्तै हिउँचितुवाको जंगलमा भेटिएको दिसा संकलन गरेर प्रयोगशालामा परीक्षण गरिन्छ भने पदचिह्न तथा संकेत सर्वेक्षण पाइलाका आधारमा समेत चितुवाको संख्या गणना गर्न सकिन्छ।



About Us
प्रतिक्रिया