एफएनसीसीआईमा नयाँ नेतृत्व चयन आज: मतदान गर्दै उद्योगी व्यवसायी


काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभाको दोस्रो दिन मंगलबार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्ने तय भइसकेको छ भने उपाध्यक्ष र कार्यकारिणी समिति सदस्यका पदमा निर्वाचन भइरहेको छ।

महासंघको नयाँ कार्यकारिणी समितिका लागि मुख्य दुई समूहबीच प्रतिस्पर्धा छ। भावी अध्यक्ष श्रेष्ठ समर्थित समूह र उपाध्यक्ष हेमराज ढकाल नेतृत्वको समूह चुनावी मैदानमा आमनेसामने भएका छन्।

श्रेष्ठ निकट समूहले वरिष्ठ उपाध्यक्ष अझै औपचारिक रूपमा घोषणा नगरे पनि वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरे लाई अघि सारेको छ। उक्त समूहबाट एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे उम्मेदवार छन्। जिल्ला/नगर उपाध्यक्षतर्फ कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठले उम्मेदवारी दिएका छन्।

यस्तै, ढकाल समूहले जिल्ला/नगरतर्फ उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरेलाई अघि सारेको छ। वस्तुगततर्फ उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ छन् भने एसोसिएटतर्फ ज्योत्सना श्रेष्ठ प्रतिस्पर्धामा रहेकी छन्।