काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले अहिले हटाइएको कर्मचारी ट्रेड युनियन र विद्यार्थी संगठन कसैको अधिकार खोस्न नभई प्रणालीको रक्षा र सुधारका लागि गरिएको स्पष्ट पारेका छन्। मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले आफूले संगठन विस्तार गर्न नसकेर नभई विधिको शासनको लागि यस्तो संगठन खारेज गरेको स्पष्ट पारेका हुन्।
उनले भनेका छन्,’वर्षौंदेखि पत्रकार, नेता, अभियन्ता, व्यापारी तथा सर्वसाधारणले शिक्षालय र कर्मचारीतन्त्रमा बढ्दो पार्टीकरणले प्रणाली बिग्रिएको भन्दै आलोचना गर्दै आएका छन्। उनीहरूको भनाइमा विद्यार्थी र कर्मचारीका संगठनहरू आफ्नो मूल उद्देश्यबाट विचलित भई दलका “स्लिपर सेल” जस्तै बनेका छन्, जसले योग्यता र क्षमताभन्दा पहुँच र राजनीतिक झुकावलाई प्राथमिकता दिएको छ। यसले समग्र प्रणालीप्रति जनविश्वास कमजोर बनाएको धारणा व्यक्त गरिएको छ।’
उनले शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलगत संलग्नता निषेध गर्ने स्पष्ट नीति लिएको भन्दै यस कदमले अधिकार खोस्ने नभई पेशागत स्वतन्त्रता सुदृढ बनाउने विश्वास गरिएको बताएका छन्। साथै नियुक्ति, सरुवा र बढुवामा दलगत निकटता होइन, विधि, क्षमता र दक्षतालाई आधार बनाइनुपर्नेमा जोड दिइएको उनको भनाइ छ।
यो कदम कुनै दलविरुद्धको अभियान नभई प्रणाली सुधार र भविष्य सुरक्षित गर्ने प्रयास भएको जनाएको छ। शिक्षालय र कर्मचारीतन्त्रलाई दलीय अखडाबाट मुक्त बनाउने प्रयास रहेको उनको भनाइ छ।



About Us
प्रतिक्रिया