डिएसपी बमको नेतृत्वमा वर्षौं पुरानो केस खुलासाः दुर्घटना भनिएको घटना योजनावद्ध हत्या पुष्टि


काठमाडौं – बर्दिबासमा सात वर्षअघि सामान्य सवारी दुर्घटना भनिएको घटना अहिले योजनावद्ध हत्या भएको खुलेको छ। इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) विकास बम को नेतृत्वमा भएको पुनः अनुसन्धानपछि उक्त घटनाले नयाँ मोड लिएको हो।

२०७६ असार ३१ गते राति बर्दिबासको स्मृति पार्क नजिक ३६ वर्षीय श्रवणकुमार थापा (सरोज) को मृत्यु भएको घटनालाई प्रारम्भमा दुर्घटना मानिएको थियो। तर, हालको अनुसन्धानले यो सुपारी दिएर गरिएको योजनाबद्ध हत्या भएको पुष्टि गरेको छ।घटनापछि मृतककी श्रीमती र दुई साली पक्राउ परेका छन्।

घटना के थियो ?
वि.सं.२०७६ सालमा बिपी राजमार्गअन्तर्गत प्रदेश–२–०२–००१ प ३०५४ नम्बरको स्कुटर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो भने चालक सरोजको शव नालीमा भेटिएको थियो।

त्यतिबेला प्रारम्भिक अनुसन्धान र पोस्टमार्टम रिपोर्टले यसलाई सडक दुर्घटना ठहर गरेको थियो। तर परिवारले स्कुटरमा ठुलो क्षति नदेखिनु र शवको अवस्थालाई लिएर निरन्तर शङ्का व्यक्त गर्दै आएका थिए।

पुनः अनुसन्धानपछि खुल्यो हत्या रहस्य
परिवारको दबाबपछि केन्द्रीय अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय बर्दिबासले पुनः सूक्ष्म अनुसन्धान थालेका थिए। गहिरो अनुसन्धानपछि यो घटना योजनाबद्ध हत्या भएको निष्कर्ष निकालिएको हो। अनुसन्धानका क्रममा प्रमोद सिंह, मुकेश सिंह, ज्ञाननारायण महरा र नरेश सहनी पक्राउ परेका छन्।

डिएसपी बमको नेतृत्वमा सफलता
वर्षौंदेखि सुल्झिन नसकेको केसलाई सफल निष्कर्षमा पुर्‍याउन डिएसपी बमको नेतृत्व निर्णायक बनेको हो। उनको टोलीले फरार अभियुक्तहरूको लोकेसन ट्र्याक गर्ने, भारतसम्म समन्वय गर्ने तथा प्राविधिक प्रमाण संकलन गर्ने कार्यमा उल्लेखनीय सफलता हासिल गरेको छ।